निसा राई
धरान, भदौ २३ गते । नेकपा (एमालें) का उपाध्यक्ष तथा पूर्व सभामुख एवम संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताउनुभएको छ । धरानमा शनिबारदेखि शुरु भएको दुई दिने राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।
पहिचानको पक्षमा एमाले सदैव रहेको र तर पहिचानको माग राख्नेहरुलाई अराजक गतिविधि गर्ने छुट नरहेको उहाँले बताउनुभयो । एमाले पार्टी पहिचान, समावेशीता र धर्म निरपेक्षता कायम गराउने पार्टी हो उहाँले भन्नुभयो । ‘धर्मनिरपेक्षता, पहिचान र समावेशीको सवाल एमालेकै अगुवाईमा सम्बोधन भएको हो । एमालेलाई पहिचान विरोधी भनेर गलत आरोप लगाउन मिल्दैन’ उहाँले भन्नुभयो ।
उहाँले अहिले पहिचानको नाममा अराजक गतिविधि भइरहेको र यसलाई रोक्नु पर्ने बताउनुभयो । यस्तो गतिविधिले पहिचान स्थापित नहुने उहाँको भनाइ छ । लोकतन्त्र विपरीत, मूल्य मान्यताविपरीतका काम जहाँबाट भए पनि रोक्नु पर्नेमा नेम्बाङले जोड दिनुभयो ।
‘केही समय पहिचानवादीहरुले कोशी प्रदेश लेखेको ब्यानर हटाउन आन्दोलन समेत गरेको थियो, यसैबिच कार्यक्रमस्थल र धरान बजारमा बाक्लो सुरक्षाकर्मी परिचालित गरिएका थिए’ उहाँले भन्नुभयो, ‘समस्या समाधान वार्ता र सहमतिबाटै हुन्छ ।’
युवा संघ नेपालका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेत, एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य शेरधन राईलगायतले अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
भोलि आईतबारसम्म चल्ने अधिवेशनका लागि कोशी प्रदेशका १४ जिल्लाबाट एक हजार युवाहरु जम्मा भएका छन् । भोली हुने बन्दसत्रमा राष्ट्रिय युवा संघ कोशी प्रदेशले नयाँ नेतृत्व चयन हुने आयोजकले जनाएको छ । अधिवेशनले एकसय एक सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ ।