चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २३ गते । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी भट्टराईले नेतृत्वको निषेधात्मक व्यवहारका कारण नेपालमा कम्युनिस्ट विभाजित भएकाे बताउनुभएको छ ।
पार्टीको सङ्गठन निर्माण तथा विस्तार अभियानका क्रममा ताप्लेजुङ आउनुभएकी नेतृ यमी भट्टराईले नेतृत्वको निषेधात्मक व्यवहार र कार्यशैलीकै कारण कम्युनिस्टहरु विभाजित अवस्थामा रहेको बताउनुभयो ।
सञ्चारकर्मीसँगको भेटघाटमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहनुभएकी नेतृ यमी भट्टराईले नेतृत्वले व्यवहार तथा कार्यशैली परिवर्तन नगरेका कारण कम्युनिस्टहरु एक ठाउँमा आउन नसकेको बताउनुभयो । यसको असर देशको विकासमा परेको उहाँको भनाइ छ ।
उहाँले पुराना दलहरु समयसापेक्ष चल्न नसकेकै कारण विकल्पमा नयाँ दल तथा शक्तिहरु उदाउन थालेको बताउनुभयो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीमा छँदै देशको समृद्धि र जनताको हितका लागि परिवर्तन अपरिहार्य रहेको औंल्याउँदै पार्टीमा आफ्ना प्रस्तावहरु राख्दा बेवास्ता गरेपछि उहाँले वैकल्पिक बाटो रोज्नुभएको पनि यमीको भनाइ छ ।
अहिले डा. भट्टराईकै अवधारणाअनुसार वैकल्पिक शक्तिहरु उदाउन थालेको र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको पनि उहाँले जोड दिनुभयो । वैकल्पिक राजनीति र आर्थिक क्रान्तिबिना देशको समृद्धि असम्भव देखेपछि डा. भट्टराईले वैकल्पिक राजनीतिक शक्तिका रुपमा नयाँ शक्ति पार्टी र नेपाल समाजवादी पार्टी स्थापना गरे पनि सोचेजस्तो अघि बढ्न नसकेको बताउनुभयो ।
डा. भट्टराईकै दृष्टिकोण, अवधारणाअनुसार हाल देश चलिरहेको बताउँदै अर्काको अनुशरणमा कुनै शक्ति उदाए पनि दीर्घकालीन नहुने तर्क उहाँको छ । समावेशीता, सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद पाँच ‘स’ को अवधारणसहित कृषिमा आधारित अर्थतन्त्रलाई उद्योगमा परिवर्तन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता मूल मुद्दा लिएर नेपाल समाजवादी पार्टी (नेसपा) अघि बढेको उहाँले बताउनुभयो । ढिलो–चाँडो यही मार्गचित्रमा सबै शक्ति एकीकृत हुने उहाँले चर्चा गर्नुभयो ।
नेसपाले सुरु गरेको छ महिने सङ्गठन निर्माण तथा विस्तार अभियानले थप जागरण ल्याउने पनि नेसपाका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका इन्चार्ज भरत दाहालले बताउनुभयो । नेसपाका नेता कैलाश बानियाँले पार्टीको अभियान हाल देशभर सञ्चालनमा रहेको जानकारी दिनुभयो ।