• ११ मंसिर २०८१, मङ्गलबार

घर घरमा ‘अष्टिम्की चित्र’

blog

काठमाडौँ, भदौ २३ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कैलालीको जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको ‘थारु लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ सम्पन्न भएको छ । प्रतियोगितात्मक रूपमा गरिएको कार्यशालामा ३० जनाभन्दा बढी कलाकारको सहभागिता रहेको थियो । जानकी गाउँपालिकाका नौ वटै वडाबाट सहभागिता रहेको प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत सहभागीले आआफ्ना घरमा ‘अष्टिम्की चित्र’ बनाएको ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ । 

थारूले मनाउने कृष्णाष्टमी पर्वमा मनाउने अष्टिम्की चित्रमा कृष्ण, गोपिनी, पाण्डव, रावणलगायतका विषयलाई चित्रण गरिएको हुन्छ । प्रतियोगितामा पहिलो हुनुभएका रामगुलाम चौधरीले १० हजार, दोस्रो हुनुभएकी मेनु डगौराले आठ हजार, तेस्रो हुनुभएका राजकुमार रावत र अनिल चौधरीले जनही छ हजार एवं अञ्जु चौधरी र कृष्ण चौधरीले चार/चार हजारसहित सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा/प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने लक्ष्य प्रतिष्ठानले लिएको बताउँदै कार्यशाला तथा प्रशिक्षणले नयाँ उत्साह थपेको बताउनुभयो ।