न्याय, समानता, अहिंसा, सत्य र निष्ठाका पक्षधर नेपालीको सङ्घर्षमय जीवन, सादगीपूर्ण जीवनशैली, स्वाभिमानीपन, इमानदारी, निष्पक्ष एवं निर्भीक पत्रकारिता, निःस्वार्थ समाजसेवालगायतका विषय हामी सबैका लागि प्रेरणादायी रहने छन् । पत्रकारिताका अतिरिक्त साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान अनुकरणीय छ ।
तू न थकेगा कभी, तू न रुकेगा कभी,
तू न मुडेगा कभी, कर शपथ
कर शपथ, कर शपथ
अग्निपथ, अग्निपथ, अग्निपथ
(तिमी कहिल्यै थाक्नु हुँदैन, तिमी कहिल्यै रोकिनु हुँदैन, तिमी पछाडि फर्केर नहेर्नु, शपथ लिनु केवल अग्निपथ)
भारतका प्रसिद्ध साहित्यकार हरिवंशराय बच्चनका पङ्क्ति जस्तै कलमको माध्यमले न्याय, समानता र स्वतन्त्रताका लागि आजीवन सङ्घर्ष गर्ने प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो राजेश्वर नेपाली । जो किशोरावस्थादेखि हाल जीवनको उतरार्धसम्म उहाँले आफ्नो कलमलाई रत्तिभर पनि डगमगाउन दिनुभएन । छैन । शरीरमा प्राण रहँदासम्म अन्याय, अत्याचार र बेथितिविरुद्ध स्वच्छन्द रूपमा समाज र देशका लागि कलम चलाइरहनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अनवरत सङ्घर्षरत योद्धा नेपाली भदौ ११ गते सोमबार देह त्याग गरेर महाप्रस्थान गर्नुभएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला गाउँमा विसं २००२ साल भदौ १९ गते पिता रामदुलार साह र माता इन्द्रमणिदेवी साहको कोखबाट माहिलो सन्तानका रूपमा जन्मिनुभएका उहाँले विसं २०१५ सालदेखि साहित्य लेखन तथा २०१८ सालदेखि पत्रकारिता क्षेत्रमा अनवरत पुर्याउनु भएको योगदान अतुलनीय छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जनअधिकार बहालीका लागि भएका आन्दोलनमा कलमको माध्यमले निर्वाह गर्नुभएको भूमिकालाई शब्दमा वर्णन गर्न सकिन्न । न्याय, समानता, अहिंसा, सत्य र निष्ठाका पक्षधर नेपालीको सङ्घर्षमय जीवन, सादगीपूर्ण जीवनशैली, स्वाभिमानीपन, इमानदारी, निष्पक्ष एवं निर्भीक पत्रकारिता, निःस्वार्थ समाजसेवालगायतका विषय हामी सबैका लागि प्रेरणादायी रहने छन् । पत्रकारिताका अतिरिक्त साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदान अनुकरणीय छ । नेपालीको निधनले मधेश प्रदेश मात्र नभई नेपालको पत्रकारिता क्षेत्रमा सदैव उहाँको अभिभावकत्व खट्किरहने छ ।
राजनीति, साहित्य, पत्रकारिता, इतिहास, संस्कृतिलगायतका क्षेत्रसँग सम्बन्धित विषयमा घण्टौँ बोल्न सक्ने अद्भुत क्षमता उहाँमा थियो । तरबारको धार झैँ तिखो कलम चलाउँदै आउनुभएका नेपालीसँग भेट्न जानेहरूलाई थोरै शब्दमा जीवनका अतीतका घटनाबारे तिथिमिति र समयसहित कण्ठस्थ सुनाउनुहुन्थ्यो । धोती कुर्तामा देश र मधेश चिनाउनुभएका उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सयौँ पुरस्कार, सम्मान तथा कदरपत्र प्राप्त गर्नुभएको छ । उहाँ जतिको सम्मान एवं प्रशस्तिपत्र सायदै अन्य कुनै पत्रकार वा साहित्यकारले पाएका होलान् ।
पङ्क्तिकारले विद्यार्थी राजनीतिमा रहेका बेला नेपालीको नाम सुनेको थियो । २०५६-५७ सालतिर जब पत्रकारितामा प्रवेश गरेँ । त्यसपछि कतिपय कार्यक्रममा प्रत्यक्ष हेर्ने र उहाँका क्रान्तिकारी अभिव्यक्ति सुन्ने प्रत्यक्ष अवसर पाएँ । उहाँको सादगीपूर्ण जीवनशैली र निर्भीक रूपमा चर्को बोल्ने शैलीबाट म प्रभावित हुँदै गएँ । उहाँको पत्रकारिता क्षेत्रको सङ्घर्ष यात्रा र पुस्तक लेखनबाट मैले प्रेरणा पाएको छु ।
साँचो कुरा भन्न नडराउने तथा जस्तो सुकै परिस्थितिमा पनि रत्तिभर नडगमगाउने उहाँको अद्भुत स्वभाव थियो । आजभन्दा १२ वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना भएको थियो । उक्त सम्मेलनमा मैथिली साहित्य परिषद् राजविराजबाट म पनि सहभागी भएको थिएँ । संयोगले उहाँ र जनकपुरका चर्चित पत्रकार, साहित्यकार प्रा. प्रमेश्वर कापडी, साहित्यकार एवं रङ्गकर्मी उपेन्द्र भगत नागवंशी, पत्रकार मित्र श्रवण देवसमेत एउटै कोठामा दुई रातसँगै बस्ने अवसर पायौँ । त्यति बेला उहाँसँग सामान्य कुराकानी भयो । मेरो मनमा उहाँसँग जान्नुपर्ने धेरै जिज्ञासा थिए तर मैले उहाँले बोलेका कुरा सुनी मात्र रहेँ । उहाँको क्रान्तिकारी छवि र कडा स्वरमा बोल्ने बानीका कारण चाहेर पनि जिज्ञासा राख्न हिचकिचाउँथे । उहाँको सङ्घर्षयात्रा, निष्कपट बेदाग व्यक्तित्व र जीवनशैलीले ममा प्रभाव जमाउँदै गयो ।
२०६८ सालको कुरा हो । म काठमाडौँ गएको थिएँ । सहिदगेटतर्फको पेटीबाट म आफ्नो गतिमा पैदलै गन्तव्यतर्फ जाँदै गर्दा अचानक सेतो धोती, सेतो कुर्ता, गम्छा र काँधमा खादीको झोला भिरेका सेतो कपाल र सेतो जुँगा भएका बाबा अर्थात् त्यही कलमवीर योद्धा नेपालीसँग जम्काभेट भयो । मैले प्रणाम गरेँ । उहाँ मेरो अनुहारतिर हेरेर मुस्कुराउनु भो, मैले भनेँ, “हम श्यामसुन्दर, सप्तरीके ।” अनि उहाँले “हँ चिन्ह गेलौँ” भन्दै आराम कुशल सोध्नुभयो । मैलै “सबै ठिक छ, म नेपाल टेलिभिजनमा पारिश्रमिक लिन आएको” बताएँ । उहाँले झोलाबाट दुई वटा किताब झिकेर मेरो हातमा सोहागिन र सोमली मैथिली सङ्ग्रह थमाउनुभयो । मैले हार्दिकताका साथ ग्रहण गरेँ । मैले उहाँका दुवै कथासङ्ग्रह पढेँ । त्यसपछि उहाँप्रतिको आस्था र सम्मान झन् बढ्दै गयो । खोजी गर्दै जाँदा विभिन्न विधामा उहाँले दुई दर्जन पुस्तक लेख्नुभएको जानकारी पाएँ । करिब डेड दर्जन पुस्तक प्रकाशनको व्रmममा रहेका छन् । उहाँ जस्ता पत्रकारिता, साहित्य, सामाजिकलगायतका क्षेत्रमा उच्च कदका आदरणीय व्यक्तित्व राजेश्वर बाबा अर्थात् नेपालीजीका अन्य पुस्तक खोजी गरेर पढ्ने कौतुहलता ममा बढ्दै गएको छ ।
पत्रकारितासँगै गोरखापत्रलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामार्फत उहाँका लेख निरन्तर प्रकाशित भइरहन्थे । मैले खोजीखोजी चाख लिएर पढ्ने गर्दथे । कारण ऐतिहासिक, सांस्कृतिक, पुराताìिवक, सामाजिक तथा राजनीतिक क्षेत्रमा कलम चलाउँदै आएकाले उहाँका लेख ज्ञानको राम्रो खुराक हुने गरेको छ । त्यसमा पनि उहाँ आफैँ धेरै ऐतिहासिक घटनाका साक्षी पात्र हुनुहुन्छ । त्यसैले विभिन्न आन्दोलन, घटना तथा राजनीतिक व्यक्तिका बारेमा लेख्नुभएको विषयमा तथ्य र प्रमाणसमेत हुने गरेको पाएको छु । अझै पनि अतीतका कालखण्डमा भएको घटना विवरण तथा मिति र समयसमेत उहाँको दिमागमा ताजै छ । उहाँ साँच्चिकै मधेश मात्र नभई नेपालको जिउँदो इतिहास हुनुहुन्थ्यो ।
उहाँसँगको अर्को भेट २०७१ सालमा राजविराजमा भयो । सन्दर्भ थियो १४ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन । म त्यति बेला न्युज टुडे दैनिकको सम्पादक थिएँ । उहाँसँग पहिलादेखि नै चिनजान रहेकाले पत्रकारलाई समन्वय गरिदिन आग्रह गर्नुभएको थियो । समाचार सङ्कलन तथा सम्प्रेषणमा मैले भ्याएसम्मको सहयोग र समन्वय गरेँ पनि । उहाँसँगको लगाव बढ्दै गयो । त्यसपछि त गुगलमा राजेश्वर नेपालीका लेख, रचना एवं संस्मरण खोजीखोजी पढ्न थालेँँ । देश सङ्घीय संरचनामा गएपछिको मधेश प्रदेश (साबिक, प्रदेश २) का तात्कालीन मुख्यमन्त्री मा. लालबाबु राउत नेतृत्वको सरकारले २०७७ माघ २३ गतेको मन्त्रीपरिषद्ले पङ्क्तिकारलाई आमसञ्चार प्राधिकरणको अध्यक्षमा र मिडिया काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईलाई नियुक्त ग¥यो । त्यसपछि आदर्श पत्रकार नेपालीलाई भेट्ने निधो गरियो । उहाँ जानकी मन्दिर छेउमा उहाँको पत्रिकाको कार्यालयमा रहेको जानकारी पायौँ । हामी दुवै जना खोजी गर्दै जानकी मन्दिरदेखि उत्तर पूर्वको गल्लीमा पुग्यौँ । त्यहाँ बसेर उहाँले पत्रिका सम्पादन गरिराख्नुभएको थियो । उहाँसँग हाम्रो कुराकानी भयो । त्यसपछि उहाँसँँग निरन्तर भेटघाट नभए पनि उहाँका ज्वाइँ अर्थात् नेपाल टेलिभिजनका संवाददाता श्रीनारायणजीसँग बाबाको विषयमा सोधिरहन्थेँ । उहाँ बिरामी परेको कुरा सुनेर अत्यन्तै दुःखी हुन्थेँ । पटक पटक जेलनेल, यातना र मानसिक प्रताडना सहनुभएका उहाँ विगत दुई वर्षयता अस्वस्थ रहँदै आउनुभएको थियो । भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएर उहाँ क्यान्सरलाई समेत जित्न त सफल हुनुभएको थियो तर शरीर कमजोर र शिथिल भएको थियो ।
विद्यार्थी जीवनकालदेखि नै हक्की र स्वाभिमानी स्वभावका नेपालीले कलमको माध्यमबाट व्रmान्ति गरिरहनुभयो । राणा र निरङ्कुश पञ्चायती शासन र शाही शासन सत्ताको समूल समाप्त पार्न उहाँको भूमिकाको जति प्रशंसा गरे पनि कमै हुने छ । प्रजातान्त्रिक आन्दोलनमा उहाँलाई प्रहरीले निर्घात कुटपिट गर्दै चरम यातना दिएका थिए । हिरासतमा प्रहरीले पिठ्युँ र ढाडमा समेत बेस्सरी लट्ठीले कुटेका थिए । त्यति बेला शरीरले पचाए पनि जीवनको उतरार्धमा आउँदा मेरुदण्डको हड्डीको दुखाइले पिरोलिरहेको थियो । उठबसमा समेत समस्या भइरहेको थियो ।
नेपालीका पिता रामदुलार साह राणाविरोधी आन्दोलनका योद्धा हुनुहुन्थ्यो । पिताकै कारण नेपाली कांग्रेसको विचारसँग नजिक हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा आर्जन गर्नुभएका उहाँले २०१८ सालदेखि औपचारिक रूपमा पत्रकारिता तथा २०२० सालदेखि साहित्यिक क्षेत्रमा कलम चलाउन थाल्नुभएको थियो । त्यति बेला नेपाल तथा भारतबाट प्रकाशित हुने पत्रिकामा समाचार एवं विचार लेख्ने चर्चित पत्रकारका रूपमा चिनिनु हुन्थ्यो । त्यति बेलाका शासकले जतिसुकै मानसिक तनाव र यातना दिए पनि उहाँ निरन्तर जनताको पक्षमा समाचार लेख्ने काममा निरन्तर लागिरहनुभयो । २०४० सालमा उहाँले लोकमत पत्रिका दर्ता गराएर प्रकाशनमा ल्याउनुभयो । त्यति बेला पत्रिकाको १८ अङ्क निस्किएपछि पञ्चायती शासकले पत्रिका दर्ता खारेज गरिदियो । सर्वोच्च अदालतमा मुद्दा लडेर उहाँले जित्नुभयो । त्यसपछि २०४३ सालयता लोकमत निरन्तर प्रकाशनमा रहेको छ ।
स्मरणीय कुरा के छ भने समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उहाँले करिब डेढ वर्ष जेलनेल भोग्नुभयो । प्रहरीको चरम यातनाका बिच पनि उहाँसहितका नेताले पञ्चायत मुर्दावाद, प्रजातन्त्र जिन्दावाद भन्ने नारा लगाउनु हुन्थ्यो । पत्रकारितामै लागेका जेठो छोरा रवीन्द्रको २९ वर्षको कलिलो उमेरमा निधन भयो । रवीन्द्रले सञ्चालन गरेको विश्वजागरण दैनिक हाल पनि प्रकाशनमा रहेको छ । केही वर्षअघि मात्र उहाँका जीवनसङ्गी सरस्वती देवीको समेत निधन भइसकेको छ । पुत्र र पत्नीशोकको पीडा खेप्दै आउनुभएका उहाँले जनकपुरधामस्थित जिरो माइलमा दिवङ्गत छोरा रवीन्द्रको नाममा भव्य भौतिक पूर्वाधारसम्पन्न अस्पताल निर्माण अन्तिम चरणमा पु¥याउनुभएको छ । उहाँले आफ्नो गाउँमा क्लब, स्कुल र पुस्तकालयसमेत खोल्नुभएको छ ।
नेपालमा प्रथम हिन्दी साहित्य सम्मेलन तथा २०५२ देखि हालसम्म १८ वटा हिन्दी सम्मेलन तथा दुई वटा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरधाममा उहाँले आफ्नै सव्रिmयतामा आयोजना गरिसक्नुभएको छ । बिरामी पर्नुअघिसम्म पत्रकारिता, साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा उहाँको ऊर्जावान् सव्रिmयता अनुकरणीय छ । उहाँका करिब डेढ दर्जन जति पुस्तक प्रकाशोन्मुख छन् । उहाँकै सम्पादनमा रहेका पत्रिका अझै व्यवस्थित गर्नु छ । पछिल्लो समय पत्रकारिता तथा राजनीतिमा देखिएका विकृतिविरुद्ध उहाँले कलम चलाउँदै आउनुभएको थियो । राजनीति र पत्रकारितामा देखिएका बेथितिप्रति नेपाली असन्तुष्ट रहँदै आउनुभएको थियो । यति मात्र होइन, हामी जस्ता पत्रकारिता, साहित्य लेखन तथा राजनीतिप्रति आस्था राख्नेहरूलाई उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन् ।
अन्त्यमा नेपाली पत्रकारिताका स्तम्भ, आदर्श ‘राजेश्वर बाबा’ को तेह्रौँ दिनको पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धासुमन ।
लेखक यादव आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष हुनुहुन्छ ।