• २६ पुस २०८१, शुक्रबार

कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

blog

कर बढाएको विरोधमा आन्दोलित स्थानीय । तस्बिरः मुकुन्द सुवेदी

मुकुन्द सुवेदी

बर्दिया, भदौ २२ गते। एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्। नेपाली कांग्रेस, नेकपा –एमाले), राप्रपा, नागरिक उन्मुक्ति, नेकपा (एस), राष्ट्रिय जनमोर्चालगायत दलले तालाबन्दी सँगै बजार बन्द गरेका हुन् ।

नागरिकको बेवास्ता गर्दै मनोमानी ढङ्गले नगरपालिकाले चर्को कर असुलेको दलको आरोप छ। कर वृद्धि गर्ने नगरसभाको निर्णय फिर्ता गर्न भदौ १५ गते वडा कार्यलय घेराउ १८ गते नगरपालिका घेराउलगायतका शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि तालाबन्दी गर्नु परेको नेकपा (एमाले) राजापुर नगर कमिटीका अध्यक्ष शर्मा चौधरीले बताउनुभयो।

नेपाली कांग्रेस राजापुर नगर समितिका सभापति महेश चौधरीले नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि पारित गरेको कर अत्याधिक रहेको बताउनुभयो। उहाँले एक सयदेखि पाँच सय प्रतिशतसम्म कर वृद्धि भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘गत वर्ष ६७ रुपियाँ बुझाएका स्थानीयले अहिले छ सय रुपियाँसम्म तिरेका छन्।’’ 

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दाबी गर्नुभयो। उहाँले आफूहरुले नगरसभाबाट पारित गरेर लिएको कर स्वाभाविक रहेको बताउनुभयो। 

नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न ऐन ल्याएको थियो।