• ११ मंसिर २०८१, मङ्गलबार

कृषिमा पुरुषको सङ्ख्या कम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते । नेपालमा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार ६० वर्षमा २५ लाख ७८ हजार कृषक परिवार थपिएका छन् । २०१८ मा १५ लाख ४० हजार कृषक परिवार थिए भने अहिले २०७८ को कृषिगणना अनुसार ४१ लाख १८ हजार कृषक परिवार कृषिमा आबद्ध छन् । 

कृषिगणना–२०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ प्रतिशत पुगेको छ तर २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला थिए । अर्थात् कृषिमा पुरुषको सङ्ख्या दिनदिनै कम हुँदै गएको छ । 

विभागले बिहीबार कृषिगणनाको नतिजा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कृषक परिवार सबैभन्दा बढी कोशी प्रदेश तथा जिल्लागत रूपमा सबैभन्दा बढी झापा जिल्लामा रहेका छन् तर ६० वर्षमा कृषक परिवारको सङ्ख्या जसरी बढेको छ, त्यसरी कृषियोग्य जमिनमा खेती भने वृद्धि भएको छैन । विभागका अनुसार ६० वर्षमा कृषक परिवारको सङ्ख्या १६८ प्रतिशतले वृद्धि भएको छ भने जमिन ३२ प्रतिशतले मात्र वृद्धि भएको छ । 

यद्यपि १० वर्षमा जमिन घटेको छ । २०६८ को कृषिजनगणनामा २५ लाख २६ हजार हेक्टर जमिन थियो भने २०७८ सालमा २२ लाख १८ हजार हेक्टर जग्गा देखाएको छ । 

१० वर्षमा आठ प्रतिशतले कृषक परिवार सङ्ख्या बढेको छ भने जग्गा १२ प्रतिशतले घटेको छ । जग्गा घट्नु र कृषक परिवार बढे पनि उत्पादन वृद्धि भएको देखाइएको छ । 

त्यसको मुख्य कारण बाली सघनता हो । एउटै खेतीमा किसानले पटक पटक विभिन्न बाली लगाउने गरेका छन् । त्यसको सङ्ख्या दिनदिनै वृद्धि हुँदै आएको छ । कृषिगणना–२०५८ मा सघनता दर १.८३ थियो भने २०६८ मा यो दर बढेर १.८५ भएको थियो । अहिले २०७८ को गणना अनुसार यो बढेर १.९१ प्रतिशत भएको छ । किसानले एउटै जमिनमा दोहोरो तेहारो बाली लगाउने गरेका छन् । 

२२ लाख १८ हजार हेक्टर जग्गामध्ये ९६ प्रतिशत कृषिकार्यमा उपयोग भइरहेका छन् भने बाँकी जग्गा अन्य कार्यमा प्रयोग भइरहेका छन् । १७ लाख ३१ हजार हेक्टर जमिनमा अस्थायी बाली लगाइएका हुन्छन् भने एक लाख ४५ हजारमा स्थायी बाली लगाइएका हुन्छन् । 

कृषिगणना–२०७८ अनुसार कृषक परिवारले १२ लाख नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएका छन् । 

यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ तर अघिल्लो कृषिगणना–२०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणना अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यसरी नै सिञ्चित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर रहेको विभागले जनाएको छ । 

देशभरमा कृषक परिवारले चलन गरेको जम्मा २२ लाख १८ हजार हेक्टर जग्गामध्ये तीन लाख १२ हजार हेक्टर अर्थात् १४ प्रतिशत जग्गा अरूको हकको रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । १० वर्षमा सिँचाइ सुविधा पनि घटेको देखाइएको छ । विभागको तथ्याङ्क अनुसार २०६८ को कृषिगणनामा २४ लाख ७२ हजार कृषक परिवारले १३ लाख १३ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखाइएको थियो । २०७८ को गणना अनुसार २८ लाख ८९ हजार कृषिक परिवारले १२ लाख नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखाइएको छ ।  

नेपालमा उन्नत तरिकाले खेती गर्ने प्रचलन बढ्दै गएको छ । विगतका गणनामा जस्तै यस गणनामा खाद्यान्न बाली २५ लाख ८६ हजार १८३ हेक्टर क्षेत्रफलमा लगाएको पाइएको छ भने अन्य बालीमा कोसे, दाल बाली एक लाख ९९ हजार ८४४ हेक्टर क्षेत्रफलमा तेल बाली एक लाख ८० हजार १४१ हजार हेक्टर, तरकारी बाली एक लाख सात हजार ७३३ हेक्टर, कन्दमूल बाली एक लाख चार हजार ७३७ हेक्टर, मसला बाली ५६ हजार ८९३ हेक्टर र नगदे बाली ४४ हजार ६०९ हेक्टर क्षेत्रफलमा लगाइएको पाइएको छ । 

२०७८ गणना अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३८७ हेक्टर, मकैको क्षेत्रफल पाँच लाख ५९ हजार ९०९ हेक्टर र गहुँको क्षेत्रफल छ लाख ५४ हजार १९४ हेक्टर रहेको देखिन्छ । 

नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८५७ बाट बढेर ३४ लाख पाँच हजार १४ पुगेको छ भने गाईगोरुको सङ्ख्या करिब ४६ लाख, राँगाभैँसीको सङ्ख्या करिब २९ लाख, बाख्रा, खसी, बोका, च्याङ्ग्राको सङ्ख्या करिब एक करोड ४२ लाख, सुँगुर, बङ्गुर, बँदेलको सङ्ख्या करिब १४ लाख, कुखुराको सङ्ख्या करिब चार करोड ५१ लाख रहेको विभागको तथ्याङ्कमा देखिएको छ । 

कृषिगणना–२०६८ ले लाख लाख ४५ हजार कृषक परिवारले कृषि कार्यका लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना–२०७८ ले यो सङ्ख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । अर्थात् कृषि औजारप्रति किसानको आकर्षण बढेको छ । कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएर २०६८ मा आठ लाख ५६ हजार २८३ थियो भने अहिले पाँच लाख नौ हजार ८२५ मा झरेको छ । 

कृषिगणना–२०७८ अनुसार चार लाख ८३ हजार २०८ अर्थात् ११.७ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका छन् । १० वर्षमा यो सङ्ख्या निकै कम भएको छ । २०६८ को गणना अनुसार आठ लाख ३५ हजार ९२१ अर्थात् २१.८ प्रतिशत घर परिवारले ऋण लिएका थिए । 

कृषि गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना–२०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थियो । कृषि कार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगका लागि प्रयोग हुने बताउनेको सङ्ख्या ६८.८ प्रतिशत र सबै बिव्रmीका लागि हो भनी बताउने १.१ प्रतिशत रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक व्रिmयाकलाप पनि सञ्चालन गरेको बताएका छन् । अघिल्लो कृषि गणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो ।