• १६ असार २०८१, आइतबार

रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

blog

काठमाडौँ,  भदौ २१ गते ।  नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

 स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु र्‍याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

 रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र बिहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ । अपरान्ह २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । 

विसं २०२७ कात्तिकमा जन्मनुभएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा पर्नुभएको थियो । 

रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं-७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनुभएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका उहाँले मानव अधिकारवादी सङ्घसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आउनुभएको थियो । 

उहाँको निधनबाट कांग्रेसले एक होनहार नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ । रासस