• १३ साउन २०८१, आइतबार

बालुवाटारको जग्गा छिट्टै सरकारका नाममा

blog

चितवन समाचारदाता

चितवन, भदौ २१ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारको जग्गा छिट्टै सरकारको नाममा आउने बताउनुभएको छ ।  बुधबार सामुदायिक रेडियो माडीको १३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले प्रभावशाली राजनीतिक व्यक्ति मिलेर बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने काम गरेकाले त्यसलाई निस्तेज पारेर सरकारको नाममा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारको जालोलाई निर्मूल पार्ने योजना रहेकाले विचलित नभई काम गर्ने छौँ । भ्रष्टाचारविरोधी अभियानबाट विश्राम नलिई अगाडि बढ्ने छौँ ।” उहाँले भ्रष्टाचार नियन्त्रण सजिलो बाटो नभएको उल्लेख गर्दै यथास्थितिको सामु लम्पसार हुने काम वर्तमान सरकारबाट हुन नसक्ने स्पष्ट पार्नुभयो । “सबै अपराधी र तस्करलाई कानुनी कठघरामा उभ्याइन्छ,” उहाँले भन्नुभयो । 

उहाँले ६० केजी सुन तस्करीका बारेमा जरासम्म पुग्ने काममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अनुसन्धानरत रहेको जानकारी दिँँदै अनुसन्धान छिटै निष्कर्षमा पुग्ने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “अहिले देखिएका घटनाबाहेक अन्य घटनामा छानबिन गरेर भ्रष्ट र अपराधीलाई कानुनी दायरामा ल्याउने छौँ ।” 

उहाँले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नेलाई घेराबन्दी गर्ने र भ्रष्टाचारका मुख्य नाइकेलाई बचाउने षड्यन्त्र भइरहेको भन्दै आफूहरू यस्तो षड्यन्त्रबाट पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले आफूहरूले नयाँ ढाँचाको आर्थिक विकास र समृद्ध नेपाल बनाउन चाहेको चर्चा गर्दै कर्मचारी र दलका नेताको चाकडी गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको आदेशका कारण सुकुमवासीलाई लालपुर्जा वितरण रोकिएको जानकारी दिँदै अदालतको आदेशको अध्ययन गरी लालपुर्जा वितरणको वातावरण बनाइने बताउनुभयो । 

उहाँले माडी क्षेत्रमा केही निर्माण व्यवसायीले पुल निर्माण कार्य अधुरो छोडेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय र छलफल गरी निर्माण कार्यमा सहजीकरण वा ठेक्का खारेज गरी नयाँ टेन्डर प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।