• १४ मंसिर २०८१, शुक्रबार

चिया अनुसन्धान केन्द्र निर्माण

blog

प्रेम अधिकारी 

पशुपतिनगर, भदौ२० गते । देशकै पहिलो टी टेस्टिङसहितको अनुसन्धान केन्द्र इलामको कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण भएको हो । 

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको टी टेस्टिङ सेन्टरसहितको अनुसन्धान केन्द्रको निर्माण १३ करोड ६५ लाख रुपियाँको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो । उक्त टी टेस्टिङ सेन्टरसहितको अनुसन्धान केन्द्र निर्माणका लागि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले लगानी गरेको थियो । 

इन्जिनियर सुवेदीका अनुसार दुई चरणमा गरेर निर्माण कार्य सम्पन्न भएको हो । पहिलो चरणमा आव २०७६/७७ मा भवन निर्माणको काम आशिष/आर्शिवाद जेभीले ठेक्का लिएको थियो । दोस्रो चरणमा भित्री डिजाइनसहितको काम सूर्योदय/फाल्गुनन्द जेभीले ठेक्का सम्झौता गरेको थियो । अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी रहेकाले उक्त काम सक्नका लागि ठेक्का प्रव्रिmयामा छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आव २०८०/८१ मै टी टेस्टिङसहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।” 

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताउनुभयो । देशमै पहिलो पटक टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उहाँले उक्त स्थानमा चिया सङ्ग्रहालय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेस्ट हाउस र सभा हल रहेको जानकारी दिनुभयो । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधा सम्पन्न गेस्ट हाउससमेत सञ्चालन गर्ने छ । 

प्रमुख राईले भन्नुभयो, “चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्न आउनेका लागि अब गर्विलो ठाउँ तयार भयो । केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने छ ।” उक्त केन्द्रमा दाम बढाबढ्को आधारमा स्वदेशी तथा विदेशी चिया पारखीले चिया खरिद गर्न सक्ने छन् । चियाको अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिने छ ।