• २२ वैशाख २०८१, शनिबार

प्रविधि नहुँदा सनपाट खेतीमा समस्या

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, भदौ २० गते  । सनपाट खेतीमा आधुनिक प्रविधि नभित्रिँदा किसानले ठुलो सास्ती खेप्नु परिरहेको छ । मोरङमा पछिल्लो पाँच वर्ष यता सनपाट खेती हुने क्षेत्रफल बढे पनि उत्पादन खासै सन्तोषजनक छैन । 

हरेक वर्ष किसानले बिक्रीगरेपछि जुटको मूल्य आकासिने गरेको किसान बताउँछन् । मोरङको सुनवर्षी–८, डाइनियाका विश्वेश्वर सिंहले भन्नुभयो, “चाँडवाडको मुखमा किसानलाई पैसाको अभाव हुन्छ । जब किसानले बिक्री गर्छन्, मूल्य आकासिन्छ ।” किसानले जुट भण्डारण गर्न नसक्दा ठुलो आर्थिक घाटा बेहोर्नु परिरहेको अर्का किसान मोहम्मद अक्रमले बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिमन साढे तीन हजार रुपियाँले सनपाट बिक्री भयो । किसानसँग सकिएपछि प्रतिमन चार हजार छ सय रुपियाँका दरले बिक्री भयो । 

गत वर्ष सनपाटको मूल्य चार हजार छ सय रुपियाँसम्म पुग्यो । मूल्य आउने आशले दक्षिणी मोरङका किसान सनपाट (जुट) खेतीमा आकर्षित भए । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहका अनुसार मोरङमा आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७० हेक्टर क्षेत्रफलमा जुट खेती भएको थियो । आव २०७९/८० मा पाँच हजार ११० हेक्टरमा खेती भएको छ । गत वर्ष सात हजार ४०९ मेट्रिक टन जुट उत्पादन भएको मोरङमा यस वर्ष ७० हेक्टर थप जग्गामा खेती भए पनि उत्पादन खासै वृद्धि नहुने देखिएको छ । सिंहका अनुसार २०७५/७६ मा मोरङमा एक हजार दुई सय हेक्टर क्षेत्रमा मात्रै जुट खेती भएको थियो । 

जुट खेती प्रवर्धन कार्यव्रmम अन्तर्गत १० कट्ठाभन्दा बढी क्षेत्रफलमा खेती गर्ने ३० जना किसानलाई सरकारले २०/२० हजार रुपियाँ अनुदान दिएको थियो । खेतीमा आकर्षण बढे पनि जुट तुल्याउने प्रविधि परम्परागत भएकाले जुट खेतीमा लगानी धेरै हुने गरेको छ । पुराना जुट उद्योग सञ्चालनमा आउने व्रmम बढेसँगै जुटको माग बढेको छ तर सरकारले खाडी खन्नबाहेक मल र बिउमा अनुदान नदिएकाले किसान मूल्य पर्खन सक्ने अवस्थामा छैनन् । सुनवर्षी–८ का अर्का किसान सीताराम सहनीले भन्नुभयो, “दाउराको अभाव छ, त्यसैले किसानले ५/६ कट्ठामा सन्ठीका लागि सनपाट लगाएका छन् । सरकारले मल र बिउमा अनुदान दिने हो भने मोरङका किसानले नेपालको माग पूरा गरेर निर्यातसमेत गर्न सक्छन् ।” 

“किसानले बिक्री गरेपछि मूल्य बढ्छ,” गत वर्ष ३० मन जुट बिक्री गर्नु भएका सुनवर्षी–१ का श्यामकुमार मण्डलले भन्नुभयो, “१० कट्ठामा ३५ हजार रुपियाँ खर्चेर खेती लगाएँ । गत वर्ष प्रतिमन तीन हजार छ सय रुपियाँमा बिक्री गर्नुप-यो । पैसाको अभाव भएपछि किसानले नबेचेर हुँदैन । जब साहुको गोदाममा पुग्छ । अनि मूल्य प्रतिमन नौ सय रुपियाँसम्म बढ्छ ।” उहाँले २१ दिन भण्डारण गर्न नसक्दा २१ हजार रुपियाँ गुमाउनु परेको गुनासो गर्नुभयो । 

सनपाट तुल्याउने प्रविधि परम्परागत नै रहेकाले यो खेती अरू खेतीको तुलनामा झन्झटिलो रहेको किसानको भनाइ छ । जुट किसानका अनुसार सामान्यतया १० कट्ठामा सनपाट खेती गर्न १८ देखि २० हजार रुपियाँ खर्च हुने गर्छ । सुनवर्षी–८ का लक्ष्मण पासवानले भन्नुभयो, “किसानले जुट निकाल्ना साथ प्रतिमन चार हजार रुपियाँमा बिक्री भयो भने किसानलाई घाटा पर्दैन । उत्पादन पनि बढाउन सकिन्छ ।” सनपाट खेती निकालेपछि पछुवा धानसमेत रोप्न पाइने भएकाले किसान सनपाटमा आकर्षित भएका हुन् तर सनपाट काटेर पात झारेपछि गाड्ने पोखरी र बगुवा पानी नहुँदा किसानलाई समस्या हुने गरेको छ । 

कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले भन्नुभयो, “जुट अनुसन्धान कार्यालयले नयाँ प्रविधि भिœयाए पनि त्यो सफल भएन ।” उहाँका अनुसार पानी जम्ने खाडीभन्दा दैनिक पानी हालेर पानीको निकास दिन सकिने खाडीमा कुहाएको जुट राम्रो हुन्छ तर हामी कहाँ सनपाट कुहाउने खाडी परम्परागत रूपमै चलिआएका मात्रै छन् ।