• २२ वैशाख २०८१, शनिबार

अलैँचीको मूल्य दोब्बर

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, भदौ १९ गते । ताप्लेजुङमा नयाँ अलैँची यसवर्ष दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । 

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले राम्रो मूल्य पाउँदा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजो आज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ६० हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५८ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भइरहेको बताउनुभयो । उहाँका अनुसार गतवर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २८ देखि ३० हजार रुपियाँ मूल्य रहेको थियो ।

उहाँले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले कारोबार भइरहेको अलैँचीको मूल्य धेरै राम्रो भएको बताउनुभयो । उहाँका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन ६० हजार रुपियाँमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन ५६ हजार रुपियाँमा कारोबार भएको अलैँची सोमबार भने ५८ हजार रुपियाँले कारोबार भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले दुई/चार हजार रुपियाँ मूल्यमा तलमाथि हुने गरेको भए पनि अहिलेको मूल्य गत वर्षभन्दा दोब्बरबढी भएकाले आकर्षक मूल्यका रूपमा लिँदै आएको बताउनुभयो ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछाडिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने छ । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भर रहेको हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

यता यसवर्ष वर्ष अलैँची उत्पादनमा भने निकै गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झन्डै आधाले उत्पादन घट्ने किसानहरू बताउँछन् । फूल खेल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा अज्ञात रोगले अलैँची मरेका कारण उत्पादनमा ह्रास आउने किसानको भनाइ रहेको छ । त्यस्तै गत असार–साउनमा गएको बाढीपहिरोले केही क्षेत्रमा अलैँची खेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६, मेहेलेका प्रेम बुढाक्षेत्रीले बताउनुभयो ।

स्थानीय किसानले दाबी गरे अनुसार आधा नभई यसवर्ष २५ देखि ३० प्रतिशतसम्म भने उत्पादन घट्नसक्ने व्यवसायीले अनुमान लगाएका छन् । सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादनमा आधा अर्थात् ५० प्रतिशत नै नघट्ने व्यवसायी बताउँछन् । अलैँची खेती भने ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ ।