काठमाडौँ, भदौ १८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गर्नुभएको छ । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चारदिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गर्नुभएको हो ।
विश्व सम्मेलनका क्रममा मन्त्री बस्नेतले इजिप्टका स्वास्थ्यमन्त्रीसँग द्विपक्षीय भेटघाट गर्ने र दक्षिणपूर्वी एसियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने सम्भावित कार्यक्रम रहेको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ । मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा इजिप्ट प्रस्थान गर्नुभएको छ । मन्त्री बस्नेत आगामी भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस