• ८ साउन २०८१, मङ्गलबार

युवा पलायनले गाउँको गैरी खेत बाँझै

blog

अमरराज नहर्की

तनहुँ, भदौ १८ गते  । तनहुँमा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेको छ । युवा रोजगारी खोज्दै विदेश पलायन हुन थालेपछि खेतीयोग्य जमिन झाडीमा परिणत हुने क्रम बढेको छ । 

जनशक्तिको अभाव र श्रम अनुसारको मूल्य नपाउँदा जमिन बाँझो हुने क्रम बढेको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीका अनुसार ११ हजार हेक्टर खेतमा हुने बर्खे धानको खेती आठ हजार हेक्टरमा झरेको छ । 

युवा गाउँको जमिनमा खेती गर्नभन्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको तिवारीले बताउनुभयो । 

धान खेतीका लागि आवश्यक रासायनिक मलको अभाव, पहिरोले खेत पुर्ने, खेतमा बाढी पस्ने जस्ता कारणले पनि खेत बाँझो राख्ने गरिएको उहाँको भनाइ छ । १० वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि हाल एक हजार आठ सय हेक्टरमा मात्रै खेती भएको केन्द्रले जनाएको छ । चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ । हाल चिउरा मिल नै विस्थापित हुँदै गएपछि यसतर्फ कृषक निरुत्साहित बन्दै गएको तिवारी बताउनुहुन्छ । उत्पादन लागत बढी हुनु, कृषि पेसा नाफामूलक हुन नसकेको, जग्गावाला मानिसले आफूले खेती नगर्नु, बाँदर तथा अन्य वन्यजन्तुको समस्याले कृषकले खेती गर्न छाड्दै गएका छन् । 

तिवारी भन्नुहुन्छ, “खेतमा काम गर्ने रोपाहार र बाउसे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् ।” धान रोप्न, हिलो सम्याउने, काट्ने, झाँट्ने कामका लागि मेसिन नहुँदा समस्या परेको तिवारीले बताउनुभयो । 

खेती गर्ने जनशक्तिको अभावले गाउँका खेतबारीसमेत वनमाराले ढाकेको उहाँ बताउनुहुन्छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन भए पनि हाल ५१ हजार ५१० हेक्टर जमिनमा खेती गरिएको छ । खेतीयोग्य १३ हजार ५६३ हेक्टर जमिन बाँझो रहेको छ । जमिन बाँझो रहन नदिन अन्नबालीको विकल्पमा कृषकलाई सुन्तला, कागतीलगायतका फलफूल तथा आलु जस्ता नगदे तरकारी खेतीमा उत्प्रेरित गर्न थालिएको छ ।

तनहुँको एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीमा गएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे दैनिक एक सयभन्दा बढी युवा राहदानी बनाउन आउने गरेको बताउनुभयो । उहाँले अधिकांश वैदेशिक रोजगारीका लागि आउने गरेको गैरेले जानकारी दिनुभयो । गैरेले भन्नुभयो, “अहिलेका धेरै विद्यार्थीको सपना विदेशमा पढ्ने र विदेशमै बस्ने, विदेशमै रोजगारी गर्ने भएकाले राहदानी बनाउने बढिरहेका छन् ।” 

चाडपर्वमा समेत सुनसान गाउँ 

गाउँमा युवाविहीन हुँदा दसैँतिहार जस्ता ठुला चाडपर्व, विवाह व्रतबन्ध जस्ता उत्सवमा पहिलाको जस्तोे चहलपहल हराउँदै गएको छ । ऊर्जाशील युवा गाउँ छाडेर रोजगारी र अध्ययनका लागि विदेश तथा सहर बजारतिर गएपछि गाउँको रौनक घटेको गुनासो ज्येष्ठ नागरिकले गरेका छन् । 

व्यास नगरपालिका–११, पोल्याङ निवासी ७८ वर्षीय खडानन्द कैनीले गाउँमा युवा नहुँदा सुनसान हुने गरेको बताउनुभयो । सडक, भवनलगायतका विकास निर्माणका काममा जनशक्तिको अभाव हुन थालेको छ । स्थानीय जनशक्ति नहुँदा कतिपय भारतीय मजदुरले काम पाउन थालेका छन् । 

दमौली निवासी निर्माण व्यवसायी ईश्वरी देवकोटाले जिल्लामा कामदार अभाव हुँदा भारतीय कामदारको भर पर्नु परेको बताउनुभयो । विशेष गरी प्लास्टर गर्ने, रङरोगन गर्ने तथा मार्बल लगाउने काममा भारतीयको भर पर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।