• ३० वैशाख २०८१, आइतबार

बागमती प्रदेश सभा बैठक आज बस्दै

blog

राममणि दाहाल

हेटौँडा, भदौ १८ गते । बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनापछि आज सोमबार दिउँसो बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गर्नुभएको छ ।

प्रदेश सभाको बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको कार्यसूची तय गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । यसैबिच प्रदेश सभा बिजिनेसविहीन अवस्थामा रहेको अवस्थामा प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो ।

बागमती प्रदेश सरकारको चालु आवको बजेट गत असार २१ गते पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि भन्दै प्रदेश सभाका सभामुख पाठकले प्रदेश सभाको बैठक स्थगित गर्नुभएको थियो ।