• ११ असोज २०८१, शुक्रबार

सयपत्री फूलको व्यावसायिक खेती

blog

तनहुँ,  भदौ १७ गते ।  म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलखेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवर्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार सयपत्रीका बिरुवा रोपिएका छन् ।  

‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको हो । आमा समूहलाई उत्पादनमूलक समूहमा परिणत गर्ने अभियानअन्तर्गत व्यावसायिक फूलखेती सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।  

विदेशबाट आएको पुष्प आयातलाई प्रतिस्थापन गरी गाउँपालिकालाई पुष्पमा आत्मनिर्भर बनाउन यस किसिमको कदम चालेको उहाँले बताउनुभयो । त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे–५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्रीका बिरुवा लगाउनुभएको छ । पुष्पखेती विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले सयपत्री फूलखेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । 

फूलमा देश आत्मनिर्भर हुन नसक्दा बर्सेनि छिमेकी देशसँग निर्भर भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्षयता यहाँका किसान पुष्पखेती तर्फ आकर्षित हुँदै आएका छन् । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि यहाँका किसान पुष्पखेतीतर्फ आकर्षित भएको पाइन्छ । जिल्लाको शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर गाउँपालिकालगायतका विभिन्न स्थानमा पुष्पखेती गरिँदै आएको छ । रासस