• २१ वैशाख २०८१, शुक्रबार

प्रदेश सरकारले बनायो पन्चानब्बे पक्की पुल

blog

राममणि दाहाल

हेटौँडा, भदौ १७ गते । बागमती प्रदेश सरकारले हरेक वर्ष भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ । प्रदेश सरकार बनेयता भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पक्की पुल, झोलुङ्गे पुल, ढलान सडक, कालोपत्रेसहित सडक स्तरोन्नति, सडकको नयाँ ट्र्याक निर्माण, सडक ग्राभेल, मर्मतसम्भारलगायतका काम हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९/८० सम्ममा बागमती प्रदेश सरकारले ९५ वटा पक्की पुल निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले गत आर्थिक वर्षमा मात्र २६ वटा पक्की पुल निर्माण भएको जानकारी दिनुभयो । त्यसअघि ६९ वटा पुल निर्माण भएको मन्त्रालयको तथ्याङ्क छ । गत आर्थिक वर्ष प्रदेश सरकारले छ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । गत आर्थिक वर्षसम्म प्रदेश सरकारले कुल १३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । 

यसै गरी गत आर्थिक वर्षसम्ममा पटके मर्मत सम्भारतर्फ धुले सडक एक हजार ५८४.७३ किमी मर्मत सम्भार गरेको प्रदेश सरकारले आव २०७९/८० मा मात्र ३२७.२८ किमी धुले सडक मर्मत गरेको छ । गत आर्थिक वर्ष पटके मर्मतसम्भार कार्य पक्की सडकतर्फ १०.६० किमी र ग्राभेल सडकतर्फ ३२.८६ किमी गरिएको थियो । पक्की र ग्राभेल सडकको पटके मर्मतसम्भार गत आर्थिक वर्षदेखि सुरु गरिएको हो । गत आर्थिक वर्ष हेरालुमार्फत ३६४.२५ किमी मर्मतसम्भारको काम भएकोमा गत आर्थिक वर्षसम्ममा कुल एक हजार १७.३८ किमी मर्मतसम्भारको काम भएको प्रवक्ता सिंहले जानकारी दिनुभयो । 

नयाँ सडक निर्माण, स्तरोन्नति र पुनस्र्थापनाको काम गर्दै आएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा २८१.८६ किमीसहित कुल एक हजार ४३.५६ किमी सडकको नयाँ ट्र्याक निर्माण गरेको छ । यो अवधिमा ९३८.७१ किमी सडक ग्राभेल स्तरमा स्तरोन्नति गरिएकोमा गत आवमा मात्रै १५९.०८ किमी सडक ग्राभेल स्तरमा स्तरोन्नति भएको थियो । प्रवक्ता सिंहले पहिले ट्र्याक निर्माण भएकासहित गत आवसम्ममा ६८०.१९ किमी सडक कोलोपत्रेसहित स्तरोन्नति भएको जानकारी दिँदै गत आवमा मात्र १४३.९४ किमी सडक कालोपत्रेसहित स्तरोन्नतिको काम भएको बताउनुभयो । यो अवधिमा २८३.३४ किमी सडक ढलान भएको छ जसमा गत आवमा १२८.४१ किमी सडक ढलान भएको छ ।