काठमाडौं, भदौ १६ गते । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने क्रममा नेपाली खेलाडीमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाडीबाट भएका गल्ती र कमी कमजोरीका कारण नेपालले जरिवाना पनि तिर्नुपरेका घटना छन् । तर, यस पटक भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि डोपिङलगायत अन्य व्यवहारिक पक्षमा खेलाडीलाई शिक्षा प्रदान गरिरहेको छ ।
वाडाले प्रतिवन्धित गरेको औषधि खेलाडीले अज्ञानतापूर्वक प्रयोग गरेमा पनि त्यसलाई डोपिङ मानिन्छ । जसको कारण खेलाडीको करियर नै समाप्त हुनसक्छ । त्यसैले खेलाडीलाई डोपिङसम्बन्धि पूर्ण ज्ञान आवश्यक हुन्छ ।
चीनको हाङझाव शहरमामा आगामी सेप्टेम्बर २३ देखि १९औं एशियाली खेलकुद हुँदैछ । सोही प्रतियोगिता अगाडि राखेपले खेलाडीहरूहरूलाई प्राविधिक प्रशिक्षणसँगै अन्य विभिन्न पक्षमा शिक्षित गराउने काम गरिरहेको छ । उक्त एशियाली खेलकुदमा नेपालका २९ खेलका २३४ खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
सोही खेलकुदलाई लक्षित गरेर राखेपले उनीहरूको प्रदर्शन आत्मबल मिल्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । यसअघि डोपिङ शिक्षा प्रदान गरेको राखेपले शनिवार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ ।
लगनखेलमा भएको ओरियन्टेसनमा एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो । राखेपले गठन गरेको १९औं एशियाली तयारी समितिले यी कार्यक्रम सञ्चालन गरेको हो ।
साथै राखेपले अब तेस्रो चरणमा खेलाडीहरूको मोटिभसनको कार्यक्रम पनि सञ्चालन गर्दैछ । राखेपले १९औं एसियाडमा खेलाडीहरूको प्रदर्शनमा उच्च आत्मबल बढ्ने अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।