सिराज खान
नेपालगन्ज, भदौ १६ गते । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुलबहादुर केसीले माओवादीको तीन महिने रूपान्तरण अभियानले पार्टी जनजनको मनमा स्थापित हुने बताउनुभयो।
केसीले शनिबार नेपालगन्ज–११ मा अभियानको उद्घाटन गर्दै सो बताउनुभएको हो । उहाँले देशमा आएको ऐतिहासिक परिवर्तनको नेतृत्व माओवादीले नै गरेको स्मरण गराउँदै अब शान्ति र समृद्धिको नेतृत्व पनि माओवादीले नै गरिरहेको बताउनुभयो ।
पूर्व मुख्यमन्त्री केसी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको वर्तमान सरकारले जनतामा समृद्धि, शान्ति र विकासको आशा जगाउन सफल भएको जनाउँदै यही सरकारले नै जनताका सबै उपेक्षा पुरा गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘माओवादी नेतृत्वको सरकारले गरिरहेको राम्रो कामविरुद्ध षड्यन्त्र र खुरापात गर्ने कार्य सुरु भइसकेको छ । अब आम जनताले कुन सरकार जनताको हो र कुन होइन भन्ने कुरा राम्ररी बुझ्नु पर्ने बेला आएको छ ।’’
माओवादी स्थायी समिति सदस्य केसीले आज देशनै माओवादीमय हुने वातावरण बनिसकेको जनाउँदै यो तीन महिने रूपान्तरण अभियानले माओवादीप्रति जनताको समर्थन ठुलो सङ्ख्यामा वृद्धि गर्न सफल हुने बताउनुभयो ।
सो अवसरमा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे, सचिव डिल्ली बराल, आइसिटी फोरम बाँकेका संयोजक दीपेन्द्र विष्ट, नेता रतन शाही, नन्दकिशोर कश्यप लगायतको पनि उपस्थिति रहेको थियो ।