• १३ मंसिर २०८१, बिहिबार

एसियाली शारीरिक सुगठनमा २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १६ गते । एसियन शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको व्यवस्थापनमा काठमाडौँमा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । 

जसमा १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रूपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाइना, भारत, काजकिस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड, ताजाकिस्तान, उज्बेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सबै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरु नेपाल आईसकेकाछन् । 

शनिबार च्याम्पियनसिपको दोस्रो दिन मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एसियाली कांग्रेसको आयोजना भएको छ । यस्तै आइतबार खेलाडीहरूको तौल तथा हाइट मेजरमेन्ट र उमेर समूहको जाँच गर्ने कार्य हुनेछ ।

१८ गते सोमबार प्रतियोगिताको उद्घाटनका साथै १६ वटा विधामा प्रतिस्पर्धा हुने छ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरूले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र २४ नेपाली खेलाडीहरूले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुने र ५ जना नेपाली खेलाडीहरूले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रत्येक दिनको खेल पश्चात् नतिजा प्रकाशन हुनेछ । प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरी १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरूबिच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मिस्टर एसिया २०२३ घोषित गरिनुका साथै ट्रफी प्रदान गरिने छ । यस्तै सम्पूर्ण प्रतिस्पर्धाबाट मेडलका आधारमा शीर्ष तीन स्थान प्राप्त गर्ने ३ देशलाई च्याम्पियनसिपको प्रथम, द्वितीय र तृतीय घोषित गरिने छ ।