विष्णुप्रसाद पोखरेल
दमक, भदौ १६ गते । झापामा केही समयता डेंगुको सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको बताइएको छ । साउन महिनायता झापामा डेंगुका कारणले चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार एक हजार ७७३ जनामा डेंगु सङ्क्रमण भएको आधिकारिक तथ्याङ्क रहेको छ । यो भदौ १५ गतेसम्म रेकर्ड भएको तथ्याङ्क भएकाले यो भन्दा बढी सङ्क्रमित भएको हुनसक्ने बताइन्छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार चार हजार १८२ जनालाई परीक्षण गर्दा एक हजार ७७३ जनामा सङ्क्रमण देखिएको हो । दमकको आम्दा अस्पताल, सरकारी दमक अस्पताल, लाइफलाइन अस्पतालमा डेंगुका बिरामीहरूको उपचार हुँदै आएको छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटीका अनुसार स्थानीय तहहरूले डेंगु नियन्त्रण तथा डेंगुका बिरामीहरूको जाँच तथा उपचारका लागि प्रभावकारी रूपमा काम गरिरहेका छन् ।
स्वास्थ्य कार्यालयले स्थानीय तहहरूसँग समन्वय गरेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । डेंगु बारे जनप्रतिनिधि तथा स्वास्थ्य कर्मचारीहरूसँग छलफल पनि चलाइरहेका छौ, उहाँले भन्नुभयो ।