• १३ जेठ २०८१, आइतबार

जहाँ जान्छु त्यहीँ श्रीराम

blog

हाम्रो मुख्य गन्तव्य राम जन्मभूमि । हामी चढेका भाडाका टेम्पोहरू तीव्र गतिमा कुदे र निश्चित स्थानमा पुगेर अडिए । गाइड अगाडि लागे, हामी पछिपछि ।

किन किन आज मेरो स्वास्थ्य स्थितिमा प्रतिकूल अवस्था देखिएको छ । हिजोदेखि नै रुघाखोकीले आफ्नो वर्चस्व देखाउन थालेको हो, आज हल्का टाउको पनि दुख्दै छ र शरीरको तापक्रम पनि बढेको अनुभव हुँदै छ ।

म भयाक्रान्त हुँदै छु । मलाई कोरोनाले छोएन, डेङ्गुले पनि छुन सकेन तर चौबिस दिने तीर्थयात्रामा हिँडेको मलाई आधाआधी यात्रा हुँदा नहुँदै शरीरमा कम्पन छुट्न थालेको छ । मलाई डर छ, मेरो अस्वस्थताका कारण तिस जना यात्रीको यात्रा नै अवरुद्ध हुने त होइन ? 

रामजन्मभूमि टेक्ने र आफ्ना इष्टदेव श्रीरामको दर्शन गर्ने मेरो पचास वर्षदेखिको सपना । पहिले घुमिसकेको ठाउँ भए विचार गर्ने थिएँ । अब त म आरामको कल्पनासम्म गर्न सक्तिनँ र हिँड्नुको विकल्प पनि देख्दिनँ । 

म पाँच वर्ष ऋषिकेश बस्दा कम्तीमा पनि वर्षको एक पटक अयोध्या निकट गोरखपुर हुँदै आफ्नो जन्मस्थल गुल्मीबाट ओहोरदोहोर गरेँ हुँला ! तर आयोध्या टेक्ने सुनौलो अवसर मिलेन । अर्काे कुरा बढीमा पाँच सय किलोमिटरको दूरीमा रहेका जनकपुर र आयोध्या, अर्थात् राम र जानकीले वैवाहिक सम्बन्ध स्थापना गरेका दुई नगरी । म कसरी छोड्न सक्थेँ ? जनकपुर घुमेपछि मैले सङ्कल्प गरिसकेको थिएँ रामजन्म भूमिको ।

सोचेको थिएँ, व्यथा कहेर कसैलाई पनि दुःखी बनाउँदिनँ तर रोग लुकाएर कहाँ लुक्दो रहेछ र ! मेरा दह्रा खुट्टा लरखराएको चाल पाइहाले साथीहरूले । अनुहारले पनि जनाउ दियो, यो अनुहार हिजोको होइन । अरूको दाँजोमा हिँड्न नसकेपछि मैले ठाउँठाउँमा नितम्ब व्यवस्थापन गर्नुबाहेक उपाय चलेन ।

श्रीरामलाई पुकारा गरेँ, “तिम्रो राज्यमा आएर त भएको बिमारी पनि निको हुनुपथ्र्यो, उल्टै रोग उत्पादन किन ? त्यसैमा पनि आफ्नै परम्भक्तमाथि !” मलाई थाहा छ, तिम्रो राज्यलाई ‘रामराज्य’ किन भनियो ? चार वटा कुरा भएकैले त रामराज्य भनिएको होला ! 

मैले सुनेको कुरा हो, “तिम्रो राज्यमा कसैलाई ज्वरोसम्म आउँदैनथ्यो, तिम्रो राज्यमा कसैको अकाल मृत्यु हुँदैनथ्यो, तिम्रो राज्यमा कोही दरिद्री हुँदैनथ्यो, तिम्रो राज्यमा कोही अन्यायमा पर्दैनथ्यो ।” यो सत्य साँचो हो भने म बिरामी किन भएँ ? परीक्षा लिन खोजिएको हो भने बेग्लै कुरा तर अहिले त म तिम्रो जन्मभूमिमा आइसकेको छु । 

म तिम्रो जन्मस्थान र तिम्रो बालरूप मूर्ति हेर्न आतुर भइरहेको छु । मसँग यतिसम्म आत्मबल छ, तिमीलाई भेट्न म बामे सरेर पनि तिम्रो जन्मस्थान पुग्ने छु । म कति भाग्यमानी ! पाइला गनेरै पनि तिम्रो दरबार पुग्ने प्रयास गर्दै छु । 

अहो ! फराकिलो हुने क्रममा रहेको धुलेबाटोमा कति धेरै अवरोध ! छ्याप्छ्याप्ती छन् पुलिसहरू । तीन ठाउँमा शरीर जाँच गराएपछि मात्र हामीले मुक्ति पाउँछौँ । हामी त्यस स्थानमा पुगिसकेका छौँ । जहाँ सानो आकारका राम, सीता र लक्ष्मणका रजतमय मूर्तिहरू प्रतिष्ठापित गरिएका छन् तर म त्यहाँका कुनै पनि संरचना क्यामेरामा कैद गर्न पाउँदिनँ, किनकि मबाट क्यामेरा मात्र होइन, कलम र कागजसम्म पनि खोसिएको छ । 

‘सीताराम, सीताराम, सीताराम, जय जय राम’ को अनुगुञ्जन छ जताततै । दर्शनार्थीको लाम लस्कर छ अघिपछि । स्थिर भएर दर्शन गर्न पाउने अनुमति छैन कसैलाई । मनमनै भन्छु, “राम ! पछाडिपट्टि विशाल मैदानमा तिम्रो मन्दिर निर्माण हुँदै छ । तिमी र माता सीताको मूर्ति निर्माणार्थ नेपालबाट दुई शिला तिम्रै जन्मभूमिमा आउँदै छन् । अबको दुई वर्षमा मन्दिर पनि निर्माण हुने छ र नवनिर्मित मन्दिरमा तिम्रो स्थायी बसोबास भएपछि म पुनः तिम्रो दर्शन गर्न आउने छु ।”

दर्शन गरेर अगाडि बढिसकेपछि मेरो मनमस्तिष्कमा अडिएका स्मृतिका झिल्काहरू एकाएक ओइरो लागेर आए । मैले हिजो मात्र ताजा समाचार सुनेको छु, “अयोध्या र जनकपुरबिच वार्ता भए अनुसार राम र सीताका मूर्तिहरू बनाउनका लागि नेपालको म्याग्दी जिल्ला गलेश्वरधामसमीप कालीगण्डकी किनारका २६ र १४ टन तौलका क्वार्टसाइट र क्यालसाइटका दुई शिला अयोध्या पु¥याउने निर्णय भइसकेकाले ती शिलाहरू पोखरातर्फ चलान भइसकेका छन् । क्रमशः ती शिला नारायणघाट हुँदै जनकपुर पुग्ने छन् र जानकी मन्दिरका महन्थ रामतपेश्वरद्वारा शिलाको पूजा–अर्चना गरिसकेपछि श्रीरामजन्मभूमि तीर्थक्षेत्र ट्रस्टका सदस्यहरूलाई हस्तान्तरण गरिने छ । त्यसपछि ती शिला गलेश्वरधामबाट एक हजार एक सय किलोमिटर यात्रा गराई अयोध्याको रामसेवकपुर पु¥याइने छ ।”

इतिहास भन्छ, सनातन धर्मावलम्बीहरूले युगौँदेखि श्रीरामको जन्मस्थान मानेर पूजाअर्चना गरिरहेकै स्थानमा सन् १५२८ मा बाबरी मस्जिद बनाइदिएपछि सनातनधर्मी र मुस्लिमबिच पटकपटक विवाद भइरह्यो । यसैबिच सन् २०१९ मा भारतीय सर्वोच्च अदालतले अतिक्रमण गरी बनाइएको बाबरी मस्जिद हटाउने र मस्जिदका लागि अन्य स्थान उपलब्ध गराउने निर्णय गरेपछि श्रीरामको मन्दिर बनाउन थालियो । यसैबिच मेरा आँखा एउटा सूचना बोर्डमा पुग्छन् । बोर्डमा लेखिए अनुसार सन् २०२० बाट सुरु गरेर सन् २०२४ सम्म पूरा गरिने सो मन्दिरका विशेषता यस प्रकार रहेछन् :

उक्त मन्दिर विश्वकै ठुला मन्दिरमध्ये एक हुने छ ।

नागर शैलीमा निर्माण गरिने सो मन्दिर तीन तलाको हुने छ ।

लागत नौ हजार करोड लाग्ने छ ।

मन्दिर अगाडि १५१ मिटर अग्लो श्रीरामको मूर्ति प्रतिष्ठापित गरिने छ ।

प्राचीन पद्धति अनुसार निर्माण गरिने सो मन्दिरमा सिमेन्ट र छड प्रयोग गरिने छैन, तथापि मन्दिरको आयु एक हजार वर्षको हुने छ । 

दुई हजार फिट तल एउटा क्याप्सुलभित्र राम जन्मभूमिको झलक दिने पुरातात्त्विक सामग्री राखिने छ ।

४९२ वर्षपछि पुनर्निर्माण हुन थालेको सो राममन्दिरमा बालस्वरूप भगवान् राम र माता सीताका मूर्तिहरू स्थापना गरिने छन् ।

यात्राकै क्रममा मैले यो पनि सुनेँ, “राममन्दिर निर्माणका लागि जनस्तरबाट प्राप्त भेटी ३० अर्ब नाघिसकेको छ” सुनेर अत्यास लाग्छ र जनआस्था देखेर पनि गर्व लाग्छ, सनातन धर्ममाथि मानिसको झुकाव कति गहिरो छ ? वास्तवमा धर्मशास्त्रहरूमा उल्लेख भएको अयोध्याको प्राचीन महìव कति उच्चकोटिको छ भन्ने कुरा त यी लाइनहरूले पनि पुष्टि गरेका छन् नि ! 

‘अ’कारो ब्रह्मस्वरूपश्च ‘यो’कारो रुद्र एव च 

‘ध्य’कारो विष्णु रूपश्च अयोध्या नाम राजते । 

अर्थात् अयोध्या भनेको त ब्रह्मा, शिव र विष्णुस्वरूप पो रहेछ । त्यसैले पनि होला, अयोध्यालाई उत्तम आठ तीर्थमध्ये एक मानिएको र तीमध्ये पनि प्रथम स्थानमा राखिएको छ ।

अयोध्या मथुरा माया काशी काञ्ची अवन्तिका । 

पुरी द्वारवती चैव अष्टैते मोक्षदायिका । 

यसै भएर पनि म गाइडको निर्देशनमा सकिनसकी शरीरलाई घचेटिरहेको छु र गाइडले देखाएका÷सुनाएका कुरालाई मनन गरिरहेको छु । पाइला पाइलामा भेटिने त्रेतायुगीन संरचनालाई हेर्दै जाँदा त म मात्र होइन, मेरा सहयात्रीहरू पनि थकाइले व्याकुल देखिँदै छन्, तथापि हतास भएर यात्रा रोक्ने पक्षमा भने कोही पनि छैनन् । 

गाइडले आफ्नो धर्म पूरा गरिरहेकै छन् र आस्थाले वशीभूत भएर हामीले पनि आफ्नो ज्यानलाई लतारिरहेकै छौँ । सत्ययुगमा ब्रह्माले निर्माण गरेको ब्रह्मकुण्ड/सीताद्वारा निर्मित सीताकुण्ड/रुक्मिणीले स्नान गरेको रुक्मिणीकुण्ड/लोमस ऋषिले स्नान गरेको स्वर्णकुण्ड/आमा राममन्दिर/चक्रवर्ती महाराज दशरथ महल/भरत महल/जानकीको प्रचीन महल/लवकुश मन्दिर/हनुमान गढीस्थित हनुमान मन्दिर/सीतामाताको रसोई र कनक भवन हाम्रो नजरमा पर्दै छन् । 

कनक भवन अर्थात् रामसीता विवाहपछि फर्कने क्रममा रामले सीतालाई आयोध्या लगेर राख्नका लागि कल्पना गरेको र रामको कल्पनालाई कैकेयीले स्वप्नमा देखेपछि दशरथलाई सुनाएको काल्पनिक भवन । जुन भवनलाई यथार्थमा परिणत गर्न कैकेयीको आग्रहमा राजा दशरथले देवशिल्पी विश्वकर्मालाई आदेश दिए र विश्वकर्माबाट रातारात निर्माण भयो कनक भवन अर्थात् सुवर्ण भवन । 

त्यही भवन माता कैकेयीले सीतालाई मुहार दर्शनका रूपमा प्रदान गरिन्, जुन भवन कालान्तरसम्म राम र सीताले अन्तपुर (निजी भवन) का रूपमा प्रयोग गरे । यीबाहेक अरू पनि हाम्रो नजरमा परे – वृहस्पति कुण्ड, क्षिरोद कुण्ड (राजा दशरथले पुत्रेष्टि यज्ञ गरेको ठाउँ), रत्न सिंहासन, आनन्द भवन, रङ्गमहल, दशरथ तीर्थ र चौबिस अवतार । 

गाइड भन्दै छन्, “अरू पनि यहाँ धेरै छन् हेर्नुपर्ने स्थानहरू– पूर्वमा नीलाद्रि पर्वत, पश्चिममा शृङ्गारादी पर्वत, उत्तरमा मुक्तादि पर्वत र दक्षिणमा मणिकूट पर्वतको बिचमा रहेको यस अयोध्या नगरीको सेरोफेरोमा रहेका अग्निकुण्ड विद्याकुण्ड, मणि पर्वत, कुवेर पर्वत, सुग्रीव पर्वत आदि ठाउँहरू अवलोकन गर्न एक दिनको समयले पुग्दैन, करिब पन्ध्र किलोमिटर बृहत् परिक्रमा गर्नु पर्दछ ।” 

तर साथीहरू भन्छन्, “अब पुग्यो । यी पर्वत र कुण्डहरू अवलोकन गर्नका लागि भगवान् श्रीरामले आफ्नो स्थायी बासस्थान बनाऊन् र हाम्रा लागि समय जुराऊन् अनि देखौँला नवनर्मित मन्दिर र गरौँला बृहत् परिक्रमा ।” 

घुम्दै गर्दा मभित्र एक प्रकारको अचम्मको शक्ति सञ्चार भइरहेको थियो । सोच्दै थिएँ– भगवान् रामले मेरो परीक्षा नै लिएका रहेछन् कि क्या हो ? मेरो हृदयले गर्जना ग¥यो, “साथीहरूको साथ पाएँ भने जाबो पन्ध्र किलोमिटरको यात्रा अहिल्यै किन पूरा नगरूँ ?” तर दिनले नेटो काटिसकेको थियो, यसर्थ हामी सामान लिन लकरतर्फ उन्मुख भयौँ । 

त्यसै बेला मेरो मस्तिष्कमा टकराउन आइपुग्यो नेपालको ठोरी निकटस्थ अयोध्यापुरी । हजारौँ वर्षदेखि मानिँदै आएको अयोध्या र केही वर्षयता बहसको विषय बनेको अयोध्यापुरीको तात्त्विक निष्कर्ष के निस्केला ? 

‘कुरा उठायो, सकियो’ ले त कुनै अर्थ राख्दैन । यो मेरो विषयभन्दा पनि राज्यले लिने चासोको कुरा हो । 

त्यस बेला म अलि भावुक पनि बनेँ र भावनामा बग्न थालेँ– म किन राम खाज्दै भौँतारिइरहेको हुँला ? मैले त श्रीरामलाई मनमै सजाएर राखेको छु । म जहाँ जान्छु, श्रीराम त्यहीँ पुग्नुहुन्छ । म हनुमान् त होइन, हनुमान्ले जस्तो छाती चिरेर देखाउन त सक्तिनँ तर म जहाँ गए पनि, जहाँ रहे पनि मेरा आराध्यदेव श्रीराम मसँगै रहनुहुन्छ ।  

Author

रामप्रसाद पन्त