• २२ मंसिर २०८१, शनिबार

१६ औँ पुस्तकालय दिवस, हरिहर भवन पुनर्निर्माणमा अन्योल

blog

जीर्ण अवस्थामा रहेको पुल्चोकस्थित हरिहर भवन । तस्बिर : प्रकृति अधिकारी

ललितपुर, भदौ १६ गते । लगानीकर्ताको सर्तका कारण भूकम्पले क्षतिग्रस्त भएको पुल्चोकस्थित हरिहर भवनको पुनर्निर्माण कार्य अत्तोपत्तो छैन। बेवारिसे बनाइएको राणाकालीन सो दरबार खण्डहर बन्न पुगेको छ। घाँस र झारले भवन पूरै ढाक्न थालिसकेको छ। 

भूकम्पबाट क्षतिग्रस्त भएका सरकारी भवनको प्रायः पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने कतिपयको अन्तिम चरणमा पुगेको छ तर हरिहर भवन भने बेवारिसे जस्तै बन्न पुगेको छ। भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन भइसक्दा पनि हरिहर भवनले पुनर्जीवन पाउन नसक्दा यसका पञ्जर पूर्ण रूपमा जीर्ण हुँदै गएका छन्। भवनको बाहिरी स्वरूप हेर्दा धरापको अवस्थामा पुगेको देखिन्छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का आयोजना प्रमुख कोषनाथ अधिकारीले भन्नुभयो, “राज्यको प्राथमिकतामा नपर्दा हरिहर भवनको पुनर्निर्माण हुन नसकेको हो।” उहाँले भूकम्पबाट क्षतिग्रस्त अन्य संरचनाको पुनर्निर्माण आफ्नै स्रोत साधनले गरिए पनि यस भवनको पुनर्निर्माण भारतको एक्सपोर्ट–इम्पोर्ट बैङ्क अफ इन्डिया (एक्जिम बैङ्क) को ऋण सहयोगमा गर्ने भनिए पनि सो बैङ्कले अगाडि सारेका कडा सर्तका कारण सो भवनको पुनर्निर्माण कार्य अगाडि बढाउन नसकिएको स्पष्ट पार्नुभयो। 

उहाँले निर्माण कम्पनी भारतीय हुनुपर्ने र भवन निर्माणमा प्रयोग हुने निर्माण सामग्री ५१ प्रतिशत भारतीय नै प्रयोग गर्नुपर्नेलगायतका सर्तका कारण कम्पनी छनोट प्रक्रिया नै अगाडि बढ्न नसकेको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “सो भवन पुनर्निर्माणका लागि दुई/दुई पटक बोलपत्र आह्वान गरियो तर भारतीय निर्माण कम्पनीले हाम्रो लागत अनुमानभन्दा बढी रकमसहितको बोलपत्र भरेपछि बोलपत्र रद्द गर्नु प-यो। त्यसपछि हामीले नेपाली निर्माण व्यवसायीबाट नै काम गराउने गरी केही सर्त परिवर्तन गर्न सो बैङ्कलाई अनुरोध ग-यौँ तर उनीहरूले मानेनन्। त्यसैले गर्दा काम अगाडि बढ्न सकेको छैन।”

आफ्नै स्रोतमा जसरी पनि सो भवनको पुनर्निर्माण गर्नै पर्छ भन्ने निष्कर्षमा सरकार पुगेको बताउँदै आयोजना प्रमुख अधिकारीले अहिले सो भवन पुनर्निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयलाई दिइएको जानकारी दिनुभयो। सो कार्यालयले पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख माचाकाजी महर्जनले सो भवनको पुनर्निर्माण बहुवर्षीय योजना अन्तर्गत गर्न सकिने बताउँदै सोका लागि अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता माग गरिएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “हरिहर भवनको पुनर्निर्माणका लागि करिब दुई अर्ब रुपियाँ आवश्यक पर्छ। रकमका लागि अनुमानित लागत तयार गरी अर्थ मन्त्रालयमा पठाएका छौँ। मन्त्रालयको सहमति आएपछि निर्माण कम्पनी छनोटका लागि बोलपत्र आह्वान गर्छौं। अहिले हामी मन्त्रालयको सहमति कुरेर बसेका छौँ।” उहाँले सो भवनको पुनर्निर्माणका लागि डिजाइनसमेत तयार भइसकेको जानकारी दिनुभयो। सो भवन चार तलाको छ। 

हरिहर भवनको डिजाइन इन्जिनियर कुमार नरसिंह र किशोर नरसिंहले गर्नुभएको थियो। निर्माण सम्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नी कान्छी रानी बालकुमारीतर्फका छोरा शङ्‌कर शमशेरलाई दिनुभएको थियो। 

१९८६ साल मङ्सिर ३० गते चन्द्रशमशेरको निधनपछि शङ्‌‌करशमशेर यस भवनमा सर्नुभएको थियो। राणकालमा शङ्करशमशेर बेलायतका निमित्त राजदूत बन्नुभएको थियो र २००९ साल फागुन ९ गते उहाँ पदच्यूत भएपछि यो भवन सरकारले लिएको थियो। भवनमा हरिहरको मूर्ति भएकाले त्यसैबाट नामकरण भएको हो।

भूकम्पअघि यस भवनमा सामान्य प्रशासन मन्त्रालय बसेको थियो। त्यस्तै निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोग पनि यसै भवनमा रहेका थिए। हाल निजामती किताबखाना र राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन परिसरमा टहरो बनाएर सरेका छन् भने राष्ट्रिय पुस्तकालय सानोठिमीमा सारिएको छ। निजामती किताबखानाका साथै कृषि विभागको पनि भवन प्रयोग गर्दै आएको छ।