• २८ वैशाख २०८१, शुक्रबार

धनकुटामा मनाइयो रोपाइँ जात्रा

blog

धनकुटामा रोपाइँ जात्रा मनाउँदै स्थानीय । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे

हिले, भदौ १५ गते । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधानसँग मनाइएको छ । असार र साउनको रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटाका नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । 

नेवारी समाजको कला संस्कृति जगेर्ना गर्न पनि यस्ताखाले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । रोपाइँ जात्रामा हातमा बीउ लिएका रोपार र कोदाली बोकेर लाठे रोपाइँ जात्रामा निस्केका छन् । नौमती बाजासहित झाँकी प्रस्तुत गरिएको थियो ।


धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्राबजार परिक्रमा गरी बसर्पाकमा पुगेर समापन भएको थियो । टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेनथान, परिचय मोड, चुवाको बोट हुँदै बसपार्कमा पुगेर समापन भएको छ ।

जात्रा कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि रोपाइँ जात्राको प्रसङ्ग स्थानीय नेवार जातिको खेतीकर्म र पौराणिककालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको बताइन्छ । खासगरी महादेव र देवासुरबीच महासङ्ग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयाका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन सुरु गरिएको मान्यता छ ।


नेवारी समुदायले मनाउने जात्रा भए पनि धनकुटा बजारक्षेत्रमा बसोबास रहेका अधिकांश जात्रामा सहभागी भएका थिए । जात्रामा पुरुषले महिलाको र महिलाले पुरुषको पोसाकमा निस्कने गर्छन् । रोपाइँ जात्राका दिन नेवार समुदायले लाखेनाच पनि देखाउने चलन रहँदैआएको छ ।