• ३० वैशाख २०८२, मङ्गलबार

नेपालगन्ज उपमहानगरले दक्ष अग्निनियन्त्रक उत्पादन गर्ने

blog

सिराज खान

नेपालगन्ज, भदौ १५ गते । नेपालगन्ज उपमहानगरभित्र आगलागी नियन्त्रणमा सहजताका लागि नेपालगन्ज उपमहानगरले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन सुरु गरेको छ ।

नेपालगन्जका अधिकांश पुराना बस्तीहरु घना र साँघुरो बाटो भएको ठाउँमा रहेकोले त्यस्ता बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नगरको बारुण यन्त्र शाखा, नगर प्रहरी, नेपाल प्रहरी र समुदायमा अग्नि नियन्त्रणको काम गर्दै आएकाहरुको दक्षता र कार्यकौशल बढाउन चार दिने विशेष तालिम सुरु गरिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा विभिन्न कारणले नगरमा आगलागीका घटना बढ्दै गएकोले सो नियन्त्रणका लागि विशेष तालिम दिएर दक्ष अग्नि नियन्त्रकहरु बनाउने उद्देश्य रहेको बताउनुभयो । 

सो तालिमका प्रमुख प्रशिक्षक किशोरकुमार भट्टराईले २४ जना सहभागी तालिममा आगलागीमा कसरी उद्धार गर्ने, दमकल कसरी परिचालन गर्ने, आगलागीस्थलमा पानी कसरी पुर्‍याउने, धुवाँमा जाँदा के गर्ने, घाइतेलाई अस्पतालसम्म कसरी पुर्‍याउने, खतराजन्य पदार्थको आगलागीमा कस्तो सजगता अपनाउनेलगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइने बताउनुभयो । उहाँले नेपालगन्जमा घना बस्तीका कारण आगलागी चुनौतीका रुपमा रहेको जनाउँदै सोही चुनौतीको सामना गर्न प्रशिक्षार्थीलाई दक्ष बनाइने बताउनुभयो । 

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले तालिमबाट प्राप्त हुने सीपले आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाका विपद् तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसी लगायतले पनि आगलागी नियन्त्रणमा अपनाउनुपर्ने सावधानी बारे जानकारी गराउनुभएको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनासँगको सहकार्यमा तालिम आयोजना गरिएको हो ।