• १३ मंसिर २०८१, बिहिबार

सहकारीबाट ठगिएका पीडित नागरिक प्रहरी कार्यालयमा

blog

नवीन सुवेदी

सुर्खेत, भदौ १५ गते । सुर्खेतमा शिवशिखर सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन् । सहकारीमा पैसा बचत गरेका नागरिकहरू अहिले लामो समयदेखि सहकारी बन्द भएपछि निराश छन् । सहकारी सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ । ब्याजको प्रलोभनमा परी स्थानीय नागरिकले करोडौं रकम जम्मा गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरस्थित कार्यालयले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपियाँ ठगेको जनाइएको छ  ।

हालसम्म २२८ जनाले आफूहरु शिवशिखर सहकारीबाट ठगिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । । उनीहरुले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरुले सहकारीमा रकम जम्मा गरेको उल्लेख गरिएको छ । प्रहरीका अनुसार आफूहरु ठगिएको भन्दै निवेदन ल्याएर आउने क्रम भने रोकिएको छैन ।

बिहीबारसम्म २२८ जनाले आफूहरु सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाही जानकारी दिनुभयो । उहाँले अझै जाहेरी आउने क्रममै रहेकाले ठगिनेहरुको सङ्ख्या अझै धेरै हुनसक्ने बताउनुभयो । यस्तै, सुर्खेत प्रहरीले सुर्खेत जिल्ला अदालतमा मागदाबी गर्दै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा करिब १० करोड बिगो मागदाबी गर्दै ११ जनालाई प्रतिवादी बनाएको छ ।

भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो भने सँगसँगै मार्ट पनि सञ्चालन गरेको थियो । दुई शाखाबाट झण्डै ३० करोड रुपियाँ सहकारीले शेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान गरिएको छ । प्रहरीले निवेदनका आधारमा करिब १० करोड रुपियाँ बिगो र कैदको मागदाबी गरेर प्रतिवेदन तयार पारेको छ । प्रहरीले सहकारी ठगीमा संलग्न सहकारीका निर्देशक ४१ वर्षीया गीता शर्मा, सञ्चालक पुष्कर मल्ल, र अमिष राजभण्डारीलाई काठमाडौंबाट ल्याएर बयान लिएको थियो भने सहकारीका मुख्यव्यक्ति केदारनाथ शर्मामाथि काठमाडौंमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

सहकारी ठगीमा संलग्न सञ्चालक र कर्मचारी गरेर सात जना फरार छन् । प्रहरीका अनुसार सुर्खेत शाखाका प्रबन्धक चन्दन थापा, लेखा हेर्ने छवि डाँगी, कैलालीका दीपक बोहोरा, मोरङका लीलानाथ गौतम, भक्तपुरका राजु साखकर्मी, सिन्धुलीका तेजबहादुर तामा र काठमाडौंका सुशील बानियाँ फरार रहेको जनाइएको छ ।