• १३ मंसिर २०८१, बिहिबार

कर्णालीमा बाल सुधार गृह आवश्यक : मन्त्री पोखरेल

blog

सामाजिक विकास मन्त्रालयमा बसेको समन्वय बैठक । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, भदौ १५ गते ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले प्रदेशमा बाल सुधारगृहको अभाव खड्किएको बताउनुभएको छ । कर्णालीका बालबालिका अहिले पनि बाँके र काठमाडौंका बाल सुधारगृहमा पठाउने गरिएकोमा अब प्रदेशका बालबालिकालाई प्रदेशकै बाल सुधार गृहमा राख्नका लागि सरकारले बाल सुधारगृह सञ्चालन गर्ने उहाँको भनाइ छ ।

मन्त्री पोखरेलले कर्णालीबाट अन्य प्रदेशका बाल सुधार गृहमा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने, स्थानीय तहमार्फत त्यस्ता बालबालिकाको अभिलेख राख्न लगाउने बताउनुभयो ।

कानुन अनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरे कारागार पठाउन नमिल्ने भन्दै मन्त्री पोखरेलले सुधार गृह अपरिहार्य रहेको बताउनुभएको छ । कर्णालीमा बाल सुधारगृह नहुँदा विभिन्न मुद्दामा मुछिएर पक्राउ परी थुनाउ आदेश भएका बालबालिकालाई अन्य प्रदेशमा पठाउने गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार प्रदेशको दशवटै जिल्लामा एउटा पनि बाल सुधारगृह छैन ।

तीनै तहका सरकारले बाल सुधारगृह स्थापना गरेर सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था भए पनि कर्णालीमा एउटा पनि बाल सुधारगृह सञ्चालनमा छैन । बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्नेमा उहाँको जोड छ । सरकारले सञ्चालन गर्ने सबै प्ररकारका कार्यक्रममा बालबालिकाको उचित सहभागितामूलक नीति, कार्यक्रम र बजेट हुनुपर्ने भन्दै उहाँले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा विशेष योजना बनाएर अघि बढेको जानकारी दिनुभयो ।

शुक्रबार बाल संरक्षण तथा प्रवर्द्धन गर्नका लागि भएका कार्यको समीक्षा तथा आगामी प्राथमिकतासम्बन्धी मन्त्रालयमा भएको समन्वय बैठकमा मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।