हुम्ला समाचारदाता
हुम्ला, भदौ १५ गते । सिमकोट गाउँपालिकाको स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई कोसेली उपहार दिने गरिएको छ। संस्थागत सुत्केरी गराउने सङ्ख्या शतप्रतिशत पु-याउन यस्तो व्यवस्था गरिएको हो।
सिमकोट गाउँपालिका–२, ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले स्वास्थ्य चौकीमा प्रसूति गराइएकालाई प्रोत्साहनस्वरूप कोसेली उपहार दिइएको बताउनुभयो। उहाँले संस्थागत सुत्केरी सङ्ख्या शतप्रतिशत पु-याउन र पोषणमा सुधार ल्याउन यस्तो व्यवस्था गरेको बताउनुभयो।
उक्त स्वास्थ्य चौकीले १३ जना सुत्केरीलाई उपहार प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी मनमाया ओली शाहीका अनुसार एक वर्षमा संस्थागत सुत्केरी हुने २१४ जना महिलालाई कोसेली उपहार प्रदान गरिएको थियो। उपहारमा मार्सी चामल, घिउ, तेल, अन्डालगायत सरसफाइका सामान दिने गरिएको छ।