• १३ साउन २०८१, आइतबार

सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो टोली

blog

काठमाडौँ, भदौ १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पु-याउने गरी विशेष अनुसन्धान टोली खटाउनुभएको हो। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले विमानस्थलबाट तस्करीमार्फत सुन बाहिरिएको घटनामा सङ्गठित गिरोहको संलग्नता हुन सक्ने भएकाले अनुसन्धानमा सहयोग पुग्ने गरी विज्ञ प्रहरी टोली खटाइएको जानकारी दिनुभयो। खटाइएको टोलीमा प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक सुदीप पाठकसहित पाँच जना रहेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो। 

प्रहरी प्रधान कार्यालयले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई उक्त प्रकरणको अनुसन्धानका लागि हङकङ पठाउन इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँमार्फत एनसिबी बेइजिङलाई पत्राचार गरिसकेको छ। एनसिबी बेइजिङ मातहत रहेको हङकङ सबब्युरोसँग समन्वय गरेर सूचना सङ्कलन गर्न नेपाली सुरक्षा अधिकृत पठाउन लागिएको हो।

गत साउन २ गते हङकङबाट क्याथे प्यासिफिकको विमान हुँदै नेपाल भित्रिएको तस्करीको सुन स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट बरामद गरेर नियन्त्रणमा लिएको थियो।

तस्करीमार्फत भित्रिएको ६० किलो ७१६ ग्राम सुनको प्रारम्भिक अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो। उक्त सुन तस्करीमा अन्तरदेशीय सङ्गठित गिरोहको संलग्नता रहेको पाइएपछि विभागले विस्तृत अनुसन्धानका लागि साउन २२ गते प्रतिवादीसहित अनुसन्धान फाइल सिआइबीमा पठाएको थियो। 

सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वमा उक्त प्रकरणको अनुसन्धान भइरहेको छ। कृष्ण कोइराला राजस्व अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा समेत खटिनुभएको थियो। 

प्रहरी मुख्यालयले अनुसन्धानको सम्पूर्ण कमान्डको जिम्मेवारी ब्युरोका प्रमुख वज्राचार्यलाई दिएको छ। ब्युरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदामसहित १० ठाउँमा छापा मारिएको थियो।

रेडी ट्रेड प्रालिले मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर काठमाडौँ ल्याएको सुन तस्करीमा नेपाल, भारत र चिनियाँ गरी हालसम्म तीन देशका नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिको बयानका आधारमा तस्करीमा अन्तरदेशीय अपराध जस्ता विषय पनि देखापरेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिनुभयो।