• २४ असार २०८१, सोमबार

पुल अलपत्र: ठेकेदार बेपत्ता

blog

अलपत्र रहेको झोलुङ्गे पुल । तस्बिर: गोरखापत्र

राजकुमार भट्टराई

खोटाङ, भदौ १३ गते । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा  छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन । 

पुल निर्माणका क्रममा तयार गरिएको टावर गत चैतमा ढलेको थियो । केही समयभित्र पुनः टावर निर्माण गर्ने ठेकेदारले प्रतिबद्धता दिए पनि हालसम्म  पुल निर्माणको काम भएको छैन । टावर पुनः निर्माण गर्नुको सट्टा उल्टै टावरको सामान बोकेर ठेकेदार हिँडेको स्थानीयको भनाइ छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने उक्त झोलुङ्गे पुल निर्माणको सम्झौता मिति सकिसकेको छ । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको भए पनि ठेकेदारको चरम ढिलासुस्तीको कारण पुल अलपत्र छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत तीन करोड ५० लाखमा पुल निर्माणको जिम्मा लिएका ठेकेदार वसन्त बुढाथोकी अहिले सम्पर्कविहीन भएका छन् । 

निर्माण सम्पन्न नहुँदै चैतमा टावर नै ढलेको थियो । झोलुङ्गे पुलको उदयपुरतर्फको टावर ठड्याइसकिएको केही दिनमै फेदैमा भाँचिएर ढलेको स्थानीय सुनकोसी आधारभूत विद्यालयका प्रधानाध्यापक विशाल राईले बताउनुभयो । उहाँका अनुसार १३ स्टेपमध्ये एक वर्ष अगाडि नौ स्टेप निर्माण गरिएको थियो । टावर ढल्ने केही दिन अगाडि मात्र बाकी पाँच स्टेप जडान गरिएको थियो । टावर ढलेपछि टावरको सामान लिएर कामदारसहित ठेकेदार हिँडेको प्रधानाध्यापक राईको भनाइ छ । 

प्राविधिक कारणले पुलको टावर ढलेपछि समस्या भएको ठेकेदार बुढाथोकीको भनाइ छ । ढलेको टावर पुनः जडान गर्न सामान बनाउन लगिएको उहाँको भनाइ छ । पुरानो सामानले काम नगर्ने भएकाले नयाँ सामान तयारी गरिएको छ । बर्खाको समयमा सामान ल्याउने बाटो असहज भएकाले पानी पर्न रोकिएपछि आएर पुल निर्माणको काम पुनः सुरु गर्ने उहाँको भनाइ छ । 

सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनी डाँडाका स्थानीय जोखिम मोलेर काठको ढुङ्गा चढेर नदीमा वारपार गर्ने गरेका छन् । अहिले कोसीमा पानीको मात्रा बढी भएकाले ढुङ्गा चलाउन पनि रोकिएको छ । जस कारण करिब ९-१० किलोमिटर टाढा रहेको अर्को पुल तरेर यात्रा गरिरहेको स्थानीय बताउँछन् । उदयपुरको कटारी बजार, डिकुवा र बाहुनी डाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो । त्यसैले झोलुङ्गे पुल चाँडो निर्माण हुनुपर्ने उनीहरूको माग छ ।  यता नियामक निकाय भने पुल निर्माणको सम्झौता समय सकिँदा समेत निर्माण नभए पनि कुनै प्रतिक्रिया दिन मानेका छैनन् । ठेकेदारसँग उल्टै मिलेमतो गरी निर्माणमा ढिलाइ गरेको स्थानीयको आरोप छ ।