नारद कोहार
तौलिहवा, भदौ १२ गते । कपिलवस्तुमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका छन् । जसमा महिला ४४ हजार ३२९ र पुरुष ३५ हजार ७ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएका हुन् ।
त्यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा ४४ हजार सात सय १६ र आर्थिक वर्ष ०७८/०७९ मा ७१ हजार ५६३ जनाले आयुर्वेद सम्बन्धी उपचार गराएका छन् । उहाँका अनुसार गत आर्थिक वर्षमा १० हजार सात सय ९५ जना पञ्चकर्म र पूर्वकर्म सेवा, १२ हजार २९ जना ज्येष्ठ नागरिक आरोग्य सेवा, ६ हजार २२९ जनाले प्रयोगशाला सेवा लिएका छन् । त्यस्तै २६ विद्यालयका एक हजार २३८ जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षा लगायतका सेवा दिइएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका प्रमुख डा नलिन नाथ तिवारीका अनुसार विगतभन्दा दिन प्रति दिन आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । उहाँले भन्नुहुन्छ, "अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्य भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।" विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रले बहिरङ्ग सेवा, निःशुल्क औषधी, पञ्चकर्मरपूर्वकर्म, ज्येष्ठ नागरिक कार्यक्रम, मातृशिशु सुरक्षा कार्यक्रम, स्वास्थ्य प्रवर्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा, योग सेवा र स्वास्थ्य जीवन शैली व्यवस्थापन लगायतको सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।