बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ १२ गते । सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैध २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । बिपी राजमार्ग हुँदै विराटनगरबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको निजी कार खनियाखर्क प्रहरी चौकीले चेक गर्ने क्रममा उक्त चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीय रोहितकुमार यादवले चलाई ल्याएको निजी कारबाट उक्त चाँदी बरामद गरिएको हो । उक्त कार्यमा संलग्न भएको अभियोगमा कारचालक यादव र सोही गाडीमा सबार सप्तरी जिल्ला राजविराज नगरपालिका–८ घर भई हाल विराटनगर महानगरपालिका–४ निवासी ३७ वर्षीय शेरचन मानन्धरसहित कारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले कारको चालक पछाडिको सिटमुनी चार वटा सेतो प्लास्टिकको पोकामा लुकाईछिपाई ल्याएको उक्त चाँदीको मूल्य २४ लाख ६१ हजार ७६० रुपियाँ खुल्न आएको छ ।
नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानका लागि राजस्व कार्यालयमा पठाउने उहाँले बताउनुभयो । ‘‘सूचनाका आधार र चली रहेको छ भन्ने हिसाबले हेर्दाखेरी उक्त चाँदी फेला परेको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘बरामद गरेको चाँदीको कागज पत्र, बिल केही पनि छैन । अवैध देखियो, कहाँबाट ल्याएको स्रोत पनि देखिएन ।’’