• २५ वैशाख २०८१, मङ्गलबार

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन : प्रधानमन्त्री

blog

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो ।

उहाँले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै सङ्क्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसैगरी, स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा सङ्घीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रबन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिनुभयो ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत १८ अर्ब ५४ करोड रुपियाँमा आयात गरेको र नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी १० अर्ब ४३ करोड रुपियाँ आम्दानी गरेको पनि जानकारी दिनुभयो ।

‘‘हाल नेपालको कुल जडित विद्युत क्षमता करिब २८ सय मेगावाट पुगेको छ । तर मुलुकको विद्युत उत्पादनको परिमाण हिउँद र वर्षा याममा एकनासको छैन । वर्षातको तुलनामा हिउँदमा विद्युत उत्पादनमा निकै ह्रास आई झण्डै एकतिहाइ मात्र हुने गर्दछ । हाल विद्युत उत्पादन र मागको आधारमा विद्युतको निर्यात र आयातको व्यवस्था मिलाउने गरिएको छ । खासगरी हिउँद याममा नदी प्रवाहमा आधारित विद्युत प्रणालीबाट उत्पादित विद्युतमा ठूलो ह्रास आउने हुँदा छिमेकी मुलुकबाट बिजुली आयात गरी आन्तरिक माग धान्नुपर्ने स्थिति छ । आगामी केही वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले स्वदेशमै पर्याप्त बिजुली उत्पादन गर्न विभिन्न स्तरका आयोजनाको निर्माणलाई अघि बढाइनुका साथै विद्युत प्रसारण तथा वितरण प्रणालीको कामलाई विस्तार गर्दै लगिएको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले विद्युत आयात–निर्यातको दर दैनिक रूपमा प्रतिस्पर्धा गरी तय हुने गरेको छ । यस वर्ष तुलनात्मक रूपमा हिउँदको समयमा अधिक सुख्खा हुनगई देशभित्रका विद्युत आयोजनाहरूबाट विद्युत उत्पादन कम हुन गएको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १८५४.५ गिगावाट आवर विद्युत रु. १८ अर्ब ५४ करोडमा आयात गरेको थियो भने नेपालबाट १३३३ गिगावाट आवर विद्युत निर्यात गरी रु. १० अर्ब ४३ करोड आम्दानी गरेको थियो । रुस र युक्रेन युद्धका कारण कोइलाको आपूर्ति असहज भई छिमेकी मुलुकमा विद्युतको उत्पादन लागत बढ्न गएकोले पनि स्वदेशमा विद्युतको उत्पादन कम हुने समयमा आन्तरिक माग पूरा गर्न प्राधिकरणले केही महँगाे मूल्यमा बिजुली आयात गर्नुपरेको कुरा स्पष्ट पार्न चाहन्छु ।’’

प्रधानमन्त्री प्रचण्डले गत वर्षको तुलनामा यस वर्ष विद्युत निर्यातमा वृद्धि भएको भन्दै क्रमशः विद्युत उत्पादन बढ्दै जाँदा विद्युतको निर्यात पनि बढ्दै जाने बताउनुभयो ।