• २२ वैशाख २०८१, शनिबार

डा. बालकृष्ण शाहको ‘गर्भको गर्व’ लोकार्पण

blog

डा. बालकृष्ण शाहको ‘गर्भको गर्व’ लोकार्पण गरिँदै ।

काठमाडौं, भदौ ११ गते । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ । 

राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत, लेखक डा.बालकृष्ण साह, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सजीव तिवारी,  पूर्व अध्यक्ष डा. लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । 

साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक गैरआख्यानमा ९ वटा कथा समेटिएका छन् । 

यी कथाहरू महिलाले गर्भावस्थामा भोग्नुपर्ने विविध जटिलतामाथि लेखिएका छन् । डा. साहले देखेका, भोगेका कुराबाट नै कथा तयार भएको बताउनु भयो । कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन् ।

परिपक्व नभई विवाह गर्दा, जन्मान्तर कम हुँदा, छोरा पाउने दबाब हुँदा, गर्भवती हुने इच्छा नहुँदा एउटी महिलाले आफ्नो ज्यानलाई कसरी बाजी लगाउनुपर्छ भन्ने कुरा यसमा समावेश गरिएको छ । 

हरेक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे पनि विस्तृतमा लेखिएको छ । छोरी किन भएछु ?, चेलीका पीडा, प्रीतिको जित, रगतको जात, छोरीको माइती, कोरोनाको फरक कथालगायत शीर्षकका कथाहरू पुस्तकमा पढ्न पाइन्छ । 

जम्मा ११९ पृष्ठको पुस्तकको मूल्य २५० रुपियाँ राखिएको छ । डा. साहको यो दोस्रो पुस्तक हो । यसअघि उहाँले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा पुस्तक लेख्नु भएको थियो ।