• १३ मंसिर २०८१, बिहिबार

दश दिनपछि खुल्यो खुलालु हिल्सा कोरिडोर

blog

खुलालुको जोखिम सडक मर्मत हुँदै । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट भदौ ११ गते । कर्णाली कोरिडोरको खुलालु सडक खण्ड दश दिनपछि सुचारु भएको छ । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक सञ्चालनमा आएको छ । 

खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सुचारु भएको हो । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सडक डिभिजन जुम्लाले ठेक्का खोलेर जोखिम सडक बनाउनका लागि एक हप्ता सडक बन्द गरिदिन भनेपछि गत भदौ १ गतेदेखि बन्द गरिएको थियो । सडकको डबल कटान सकिएकाले खोलिएको बताउनुभयो । 

हरि, सागर, रेग्मी जेभीले सडक मर्मतको जिम्मा लिएको छ । निर्माण व्यवसायी रूपक आचार्यले सडक फराकिलो बनाउने काम सकिएको र अव आरसिसी गर्न बाँकी रहेको बताउनुभयो । केही दिनबाट आरसिसी पनि सुरु हुनेछ । सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने बताउनुभयो । 

खुलालु पुलको सडक फराकिलो भएसँगै जोखिम पनि कम हुनेछ । उकालो सडक मर्मत भएमा ढुक्कले यातायातका साधन सञ्चालन हुनेछन् । पहिलो पटक भएको ठेक्कामा कुनै पनि निर्माण व्यवसायी सहभागी नभएपछि गत वैशाखमा जोखिम सडक आफैँ सडक डिभिजन कार्यालय जुम्लाले कोटेसनबाट मर्मत गरेको थियो । अहिले भने निर्माण व्यवसायी आचार्यले ठेक्का हालेका कारणले काम गराउन सहज भएको कार्यालयले जनाएको छ ।