• ११ असोज २०८१, शुक्रबार

टिप्ताला नाका भदौदेखि खुल्ने

blog

ताप्लेजुङस्थित नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको टिप्ताला नाका ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलास्थित टिप्ताला नाका भदौ २४ गतेदेखि खुल्ने भएको छ । कोभिड-१९ महामारीसँगै बन्द भएको नेपाल-चीन नाका करिब चार वर्षपछि खुल्ने भएको हो ।

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार टिपताला भञ्ज्याङ नाका आउँदो सेप्टेम्बर १० अर्थात् भदौ २४ गतेदेखि खुल्ने भएको छ । अध्यक्ष लिम्बूले चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जे काउन्टीका प्रशासन प्रमुखसँग भर्चुअल बैठक गरेर नाका खुलाउने विषयमा संवाद भएको बताउनुभयो । 

पहिलेदेखि नै डिङ्जे काउन्टी प्रशासनसँग टिप्ताला नाका खुलाई दिन आग्रह गर्दै आएको र यसपटक भने सेप्टेम्बर १० देखि खुलाउने विषयमा आपसी सहमति जुटेको उहाँले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ लगायतबाट नाका खुलाई दिने विषयमा हुँदै आएको पहल अब सार्थक हुने भएको उहाँको भनाइ छ । 

पाँच हजार एक सय मिटर उचाइ रहेको टिप्ताला नाका खुलेपछि फक्ताङ्लुङ गाउँपालिकाका स्थानीयलाई बढी सहज हुने भएको छ । नाका सञ्चालनमा आउँदा फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको फले, घुन्सा र वडा ७ ओलाङ्चुङगोला तथा याङ्माका बासिन्दालाई सबैभन्दा बढी राहत पुग्ने अध्यक्ष लिम्बूले बताउनुभयो । यो नाका हुँदै दैनिक उपभोग्य लगायतका वस्तु तिब्बतको रिउबाट आयात हुने र गलैँचा, याक, चौँरी, जडीबुटीजस्ता वस्तुहरू यताबाट रिउ निर्यात गर्ने गरिन्छ ।