• ७ जेठ २०८१, सोमबार

बैंकरलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक छ : गभर्नर अधिकारी

blog

गभर्नर महाप्रसाद अधिकारी । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ । 

आइतबार काठमाडौँमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा गभर्नर अधिकारीले सो कुरा बताउनुभएको हो । बैङ्कका धेरै सेवा र टुल्सबारे बैंकर स्वयम्लाई जानकारी नभएको देखिएको उहाँले बताउनुभयो । 

वित्तीय साक्षरताले सर्वसाधारणलाई बैङ्कको सेवा छनौट गर्न र सही निर्णय लिन सघाउने बताउनुभयो । यस्तै राष्ट्र बैङ्कले उपलब्ध गराएका सुविधा र बैङ्कभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयम्लाई पनि आवश्यक जानकारी नभएको उहाँको भनाइ छ । 

गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको चर्चा गर्नुभयो । कारोबारलाई पारदर्शी बनाउने भएकाले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन उहाँले अनुरोध गर्नुभयो । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भए पनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो । उद्योगी व्यवसायी, बैङ्क, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकाले सरकार र राष्ट्र बैङ्कले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताउनुभयो । 

अहिले नै पहलकदमी लिएर काम अगाडि बढाउन नसके पछुताउनु पर्ने दिन आउने पनि उहाँको भनाइ छ । अध्यक्ष ढकालले सरकार र राष्ट्र बैङ्कले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताउनुभयो ।