• १ वैशाख २०८१, शनिबार

अनलाइन ठगीको पासो

blog

घटना–१

फेसबुकमार्फत बनेको केटी साथीको अनुमतिबिना मोबाइल फोन लिएर उनको मोबाइल बैङ्किङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले सप्तरीको बोदेबरसाइन नगरपालिका–१४ स्थायी घर भई काठमाडौँको सुन्धारामा बस्ने २३ वर्षीय धर्मेन्द्रकुमार साहलाई गत जेठ १८ गते पक्राउ गरेको थियो।  

घटना–२ 

ई–सेवा र खल्ती वालेटमा हुने कारोबार तथा रकम ट्रान्सफर गर्ने कार्य सिकाइदिने भनी फरक व्यक्तिको फोटो राखी ई–सेवा र खल्ती वालेट खोली पीडितलाई विभिन्न किसिमले झुक्याई पीडितकै मोबाइल फोन लिएर बैङ्क खाता तथा मोबाइल बैङ्किङमा पहुँच पुर्‍याई अन्यत्र रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई काठमाडौँको कागेश्वरी मनहरा वडा नं ६, मूलपानी बस्ने २२ वर्षीय अरुण शिवाकोटीलाई गत जेठ २३ गते पक्राउ गरेको थियो। 

घटना–३

विभिन्न बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै बैङ्क खातासहित वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाइसी फाराम अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्योर, ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता कार्य गरिदिने भनी पीडितकै बैङ्क खातालगायत ओटिपी कोडसमेत लिएर खातामा पहुँच पु-याई ११ लाख १२ हजार ८४० रुपियाँ ठगी गरेको आरोपमा मोरङको धनपालथान गाउँपालिका वडा नं. १ घर भएका २१ वर्षीय महमद मोजाहिद मिया गत असार २६ गते पक्राउ परेका थिए।  

अनलाइनबाटै वित्तीय सुविधा उपलब्ध हुँदा यसले कारोबारको परम्परागत तरिका त बदलिदिएको छ नै नयाँ किसिमका जोखिम पनि लिएर आएको छ। प्रयोगकर्तामा अनलाइन कारोबारको अज्ञानतालाई दुरुपयोग गर्दै फसाउने प्रवृत्ति पछिल्लो समय झन् फस्टाएको छ। उल्लेखित उदाहरण डिजिटल माध्यमबाट बढ्दै गइरहेको जोखिम प्रवृत्तिका प्रतिनिधि घटना मात्र हुन्। 

बैङ्क तथा वित्तीय संस्थाले डिजिटल माध्यमबाट सेवा प्रवाहलाई जोड दिइरहेको छ तर त्यसका कमजोरी पत्ता लगाएर ठगी गर्ने प्रवृत्ति मौलाउन थालेको छ। योजनासहित समूह नै बनाएर ठगी गर्ने प्रवृत्ति झन् चुनौतीपूर्ण बन्दै गएको छ। यसमा नेपाली मात्र नभएर छिमेकी देशका नागरिकको संलग्नतासमेत रहेको प्रहरीको पछिल्ला अनुसन्धान र कारबाहीले पनि पुष्टि गर्दछ। 

सोझा व्यक्तिलाई थप धन आर्जनको लोभ देखाएर उनीहरूको वित्तीय विवरणसम्म पहुँच पु-याउने अथवा बैङ्क खातालाई दुरुपयोग गर्ने नियतसाथ यस्ता गिरोहले काम गर्ने पाइएको प्रहरीको निष्कर्ष छ। 

बढ्दै छ डिजिटल कारोबार

इन्टरनेट र स्मार्टफोनको पहुँच बढेसँगै अनलाइनबाटै कारोबार गर्ने प्रवृत्ति बढिरहेको छ। यस्तै प्रवृत्तिलाई ध्यानमा राखेर बैङ्क तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले पनि अनलाइन (डिजिटल) कारोबारलाई प्राथमिकता दिइरहेका छन्। दैनन्दिन अनेक किसिमका कारोबार जस्तै रिचार्ज, पानी तथा बिजुलीको बिल भुक्तानी, सिनेमा तथा मनोरञ्जनात्मक कार्यक्रमको टिकट खरिद, बिमाको किस्ता भुक्तानी, विद्यालयको शुल्क भुक्तानीलगायत दर्जनौँ कारोबार अहिले अनलाइनबाट सजिलै गर्न सकिने भएको छ। 

यसबाहेक ग्राहक आकर्षित गर्न खासगरी भुक्तानी सेवा प्रदायकले नयाँ किसिमका कारोबारलाई थप्ने होडबाजी पनि जारी छ। अनलाइनमा कारोबारमा देखिएको यस्तो प्रविधिले नयाँ प्रविधि भित्र्याउन पनि सहयोग पुगेकै छ। क्युआरमार्फत हुने भुक्तानी यसको उदाहरण हो। 

सहर तथा सहरोन्मुख क्षेत्रमा क्युआरको प्रयोग व्यापक रूपमा बढेको छ। रेस्टुराँदेखि सिनेमा हल, किराना पसलदेखि पेट्रोल पम्पसम्म कारोबारका लागि नगद बोकेर जानुपर्ने बाध्यता क्युआरको प्रयोगले विस्तारै अन्त्य गर्दै छ। यसबाहेक व्यक्तिगत तथा संस्थागत रूपमा सरकारलाई तिर्नुपर्ने राजस्व पनि अनलाइनबाटै भुक्तानी गर्न सक्ने कुरा पनि सामान्य बनिसकेको छ। विगतमा एक बैङ्कको चेक क्लियरेन्सका लागि एक दिन लाग्नेमा अब एउटा बैङ्कबाट अर्को बैङ्कमा भनेको समयमै अनलाइनबाट रकम ट्रान्सफर गर्न सम्भव भएको छ। यीलगायत अनेकौँ सुविधा तथा सहजताका कारण डिजिटल कारोबार स्थापित हुँदै गएको छ। 

सचेतनाको अभावले बढ्दै छ ठगी

अनलाइनमार्फत हुने वित्तीय अपराध बढ्नुमा मुख्य गरी प्रयोगकर्तामा सचेतनाकै अभाव देखिएको छ। बैङ्क तथा वित्तीय संस्था अथवा भुक्तानी सेवा प्रदायकको प्राविधिक कमजोरीभन्दा अनलाइनबाट वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सामान्य शतर्कता पनि पालना नगर्दा यस किसिमका ठगी मौलाउँदै गएको पाइन्छ। 

डिजिटल कारोबारको आरम्भिक चरणमा यस किसिमका ठगी प्रायः सबैतिर देखिने गरेको नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी बताउँछन्। वास्तवमा वित्तीय ठगीको केन्द्रमा पुग्दा प्रयोगकर्ताको असावधानी र अज्ञानता नै प्रमुख कारण देखिएको छ। 

सानिमा बैङ्कको डिजिटल बैङ्किङ प्रमुखसमेत रहेका नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठ पनि प्रयोगकर्तामा वित्तीय साक्षरताको अभावले गर्दा यस किसिमका ठगी र अपराध बढ्दै गएको बताउँछन्। यस किसिमको अपराध नियन्त्रणका लागि आवश्यक पर्याप्त नीतिगत व्यवस्थाको अभावमा पनि ठगी मौलाएको उनको बुझाइ छ। 

त्यसो त प्रहरीकहाँ परेका उजुरीमा यससँग सम्बन्धित मुद्दाको अध्ययन गर्दा पनि धेरैमा प्रयोगकर्ताकै कमजोरी मुख्य देखिन्छ। कारोबारसँग सम्बन्धित विवरण सजिलै अरूलाई दिने, लोभ प्रलोभनमा परेर जुनसुकै लिङ्क खोल्ने र त्यहाँ भने अनुसार गर्ने, सुरक्षाका सामान्य उपाय पनि प्रयोग नगर्ने जस्ता प्रवृत्तिले ठगीलाई मलजल भइरहेको देखिन्छ।

नेपाल प्रहरीको साइबर ब्युरो प्रमुख नविन्द अर्याल पनि प्रयोगकर्ताले कारोबारको सुरक्षाका न्यूनतम उपाय प्रयोग नगर्दा समस्या बर्सेनि बढ्ने गरेको जानकारी दिन्छन्। 

जरुरी वित्तीय साक्षरता

डिजिटल कारोबारमा बढ्दो ठगी तथा अपराध कम गर्न वित्तीय साक्षरतामा सरोकारवाला सबैको जोड छ। डिजिटल कारोबारको सही प्रयोग र त्यस क्रमममा उत्पन्न हुन सक्ने जोखिमबाट बच्न वित्तीय साक्षरताको अभियान नै चलाउनुपर्नेमा सबैको एकमत छ। यस्तै आवश्यकतालाई महसुस गर्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो।

डिजिटल कारोबार झन् झन् बढिरहेको सन्दर्भमा यस्तो अभियान निरन्तर भइरहनु आवश्यक छ। राष्ट्र बैङ्कले पछिल्लो समय यसलाई सम्बोधन गर्न समय समयमा वित्तीय साक्षरतासम्बन्धी सन्देश तथा सूचना प्रवाह गरिरहेको जानकारी दिन्छन् कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल। यस्तो अभियानलाई थप विस्तार गर्ने र गुनासो व्यवस्थापनको प्रावधानलाई थप चुस्त बनाउने गरी काम भइरहेको उनको भनाइ छ। 


डिजिटल साक्षरता अभियानमा जोड 


गुरुप्रसाद पौडेल

कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैङ्क 

पछिल्लो समय डिजिटल कारोबारमा व्यापक वृद्धि देखिएको छ। अहिले हामी विस्तारै डिजिटल कारोबारको दुनियाँमा अघि बढ्दै छौँ। यस क्रममा सुरक्षित हुँदाहुँदै पनि ठगी गर्नेहरू त्यसबाट फाइदा लिन सक्ने बाटो खोजिरहेका हुन्छन्। त्यसै क्रमममा यस किसिमका घटना हुन्छन् तर जसरी डिजिटल कारोबार बढेको छ, त्यही अनुपातमा ठगी अथवा अपराध बढेको छ भन्ने कुरा म मान्दिनँ। यद्यपि सुरक्षित कारोबारको आवश्यकता भने पक्कै छ। त्यसका लागि कारोबार नै सुरक्षित रूपमा गर्न ओटिपी तथा युजर नेम र पासवर्ड सेयर नगर्ने जस्ता काम गर्नु पर्छ । राष्ट्र बैङ्क आफैँले पनि र बैङ्कहरूलाई पनि डिजिटल साक्षरता बढाउने अभियान अघि बढाइरहेको छ । 

टेलिफोनको रिङटोन, एसएमएस अथवा सार्वजनिक सन्देशमार्फत यस किसिमका अभियानका कार्यक्रमम भइरहेको छ। घटना भइहालेको सन्दर्भमा सम्बन्धित संस्थाले यस्ता गुनासा सुन्नु पर्छ भनेर गुनासो सुनुवाइलाई प्रभावकारी बनाउने व्यवस्था मिलाउन निर्देशन दिएका छौँ। त्यहाँबाट त्यो भएन भने त्यसको गुनासो राष्ट्र बैङ्कमा गर्न सक्ने प्रबन्ध गरिएको छ। त्यसो गर्दा पनि भएन भने हामीसँग साइबर ब्युरो छ। त्यहाँ गएर यसको गुनासो गर्न सकिन्छ। 


डिजिटल ठगीबाट बच्ने उपाय


डिजिटल ठगीबाट बच्न सबैभन्दा मुख्य भूमिका प्रयोगकर्ताकै हुन्छ। आफूले प्रयोग गरिरहेको मोबाइल अथवा इन्टरनेट बैङ्किङ सुरक्षित प्रयोग गर्ने र त्यससम्बन्धी जानकारी कसैलाई पनि नदिएमा यस किसिमको ठगीबाट बच्न सकिन्छ। डिजिटल ठगीबाट बच्ने अन्य उपाय निम्न छन् ः

- आफ्नो नाममा रहेको सिमकार्ड अथवा मोबाइल फोन नम्बरबाट मात्र मोबाइल बैङ्किङ प्रयोग गर्ने।

- प्रयोग गरिरहेको मोबाइल फोन हराएमा, चोरी भएमा अथवा नम्बर परिवर्तन भएमा सम्बन्धित बैङ्क था वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकलाई तुरुन्तै जानकारी गराउने।

- आधिकारिक वेबसाइट र एप्लिकेसन मात्र प्रयोग गर्ने।

- मोबाइल फोनमा प्राप्त हुने वन टाइम पासवर्ड (ओटिपी) कसैलाई पनि सेयर नगर्ने, नबताउने।

- आफ्नो बैङ्क खाता, जन्ममिति, नागरिकता, स्थायी लेखा नम्बर, राष्ट्रिय परिचयपत्रको नम्बर तथा विवरण कसैले माग्दैमा नदिने।

- सकेसम्म सामाजिक सञ्जाल तथा अनलाइनबाट आफूसँग सम्बन्धित विवरण आदान प्रदान नगर्ने।

- च्याट गरेकै भरमा कसैलाई पनि आर्थिक सहयोग अथवा लेनदेन नगर्ने। एक पटक फोनमा कुराकानी गरेर अथवा भेटेर मात्र त्यसबारे सुनिश्चित गरी कारोबार गर्ने।

- चिट्ठा परेको अथवा कसैले सम्पत्ति दान गर्न चाहेको जस्ता म्यासेज देखेकै भरमा त्यहाँ उपलब्ध लिङ्कमा प्रवेश नगर्ने। बैङ्क खाता विवरण उपलब्ध नगराउने। याद राख्नुहोस् कसैले पनि तपाईंलाई सहजै रकम दिँदैन। 

- अपरिचितसँग सकेसम्म सामाजिक सञ्जालमा कुराकानी नै नगर्ने। शङ्कास्पद देखिएमा नजिकको प्रहरी कार्यालयलाई खबर गर्ने।

- डिजिटल ठगीबाट बच्ने उपायका बारेमा घरपरिवार, छरछिमेक अथवा टोलमा पनि जानकारी दिने। 


सरोकारवालाको भूमिका आवश्यक छ

सुनिल केसी

अध्यक्ष, नेपाल बैङ्कर्स एसोसिएसन

डिजिटलाइजेसनको आरम्भिक चरणमा यस किसिमका ठगी देखिन्छन्। सचेतनाको अभावले गर्दा यस्तो हुने गर्छ। यसका लागि सचेतना जगाउनु नै जरुरी छ। बैङ्कहरूले र एसोसिएसनले पनि अहिले वित्तीय साक्षरताका काम गरिरहेको छ। मुख्य कुरा चाहिँ प्रयोगकर्ताले आफ्नो सुरक्षाका लागि आफैँ काम गर्नुपर्ने हुन्छ। सिस्टम र सुरक्षाको फिचर कम भएर भन्दा पनि प्रयोगकर्ताको अज्ञानता नै यसमा प्रमुख कारण देखिन्छ। अहिले बैङ्कहरूले चौबिसै घण्टा निरीक्षण गर्न सक्ने, भएको ‘बग’ लाई पत्ता लगाएर काम अघि बढाउन थालिसकेका छन्। सफ्टवेयर र त्यसको टिम नै राखेर काम भइरहेको छ। 

प्रयोगकर्ताको हकमा सचेतना बढाउने काम पनि भइरहेको छ। सबै सरोकारवालाको यसको भूमिका आवश्यक पर्छ। अबको भविष्य भनेको डिजिटल कारोबार नै हो। सचेतना बढाउँदै जाँदा यस किसिमको ठगी पनि घट्दै जान सक्छ।  


९२ लाखसम्म ठगी गरेको देखियो 

नविन्द अर्याल

प्रमुख, साइबर ब्युरो, नेपाल प्रहरी

पछिल्लो समय अनलाइनबाट हुने वित्तीय ठगीका नयाँ प्रवृत्ति देखिन थालेका छन्। उदाहरणका लागि अनलाइनबाट बोनस पठाएको भनेर मोबाइल फोनमा आएको पिनकोड माग्ने, एसएमएसमार्फत चिट्ठा परेको भनेर बैङ्क विवरण माग्ने, कोही मान्छेको मृत्यु भयो, सम्पत्तिमा लगानी गर्न रकम पठाउन लगाउनेजस्ता घटना देखिएका छन्। सामाजिक सञ्जालमा सामान राखेर केही पैसा माग्ने र पछि सम्पर्कविहीन हुने घटना पनि सुरु भएका छन्। 

समग्रमा यस्तो प्रवृत्ति बढ्दो छ। मान्छेभन्दा मेसिनलाई धेरै विश्वास गरेपछि यस्तो अवस्था आएको हो। ९३ लाख रुपियाँसम्म यसरी विश्वास गरेर रकम पठाएको देखिन्छ। यसको मुख्य कारण भनेको प्रलोभन नै हो। अर्को कुरा त्यो आधिकारिक हो वा होइन भनेर जाँच नै नगर्दा पनि यस्तो भएको हो। यस्ता घटना बढेपछि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सबै स्थानीय तहसँग समझदारी गरेको छ। त्यस्तै २९ हजार विद्यालय कलेजमा विभिन्न कार्यक्रम पनि गरिरहेका छौँ। 


जोखिमबाट बचाउन बजेट छुट्याउनै पर्छ

विक्रम श्रेष्ठ

अध्यक्ष, इन्टरनेट फाउन्डेसन नेपाल


वित्तीय अपराध बढ्नुको मुख्य कारण आर्थिक फाइदा नै हो। प्रयास गरी हेरौँ अथवा व्यक्तिगत जीवनलाई क्षति पु-याउने भन्ने सोचाइका कारण पनि यस्तो बढेको पाइन्छ। 

मुख्य रूपमा वित्तीय साक्षरताको अभावले गर्दा यो किसिमको समस्या आएको देखिन्छ। हाम्रो साइबर सुरक्षा नीति नहुँदा पनि कहीँकतै यो बढेको हो कि भन्ने अनुमान गर्न सकिन्छ। यो सबै समस्या समाधानका लागि सबैभन्दा पहिले सचेतना बढाउने नै हो । यसका लागि बैङ्कहरूले लगानी पनि बढाउनु पर्छ । अर्को मुख्य कुरा प्रयोगकर्ता नै सचेत हुनु पर्छ। नेपाल राष्ट्र बैङ्कले पनि बैङ्कहरूलाई यस्ता जोखिमबाट बचाउन निश्चित बजेट छुट्याउनै पर्ने छ।