• २८ कात्तिक २०८२, शुक्रबार

जेनजीको नाममा आगजनी गर्ने मोरङमा १० जना पक्राउ

blog

शशिधर पराजुली 

विराटनगर, कात्तिक २८ गते । जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र प्रहरीको गाडीमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिनुभएको छ । 

एसपी कटुवालका अनुसार पक्राउ पर्नेमा विराटनगर र जहदा गाउँपालिकाका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ, तर अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । 

‘केन्द्रको निर्देशनपछि हामीले भदौ २४ गते आन्दोलनको नाममा प्रहरीको गाडी र प्रहरी चौकी जलाउनेहरूको खोजी गरी अनुसन्धान सुरु गरेका हौँ । हाल केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ,’ एसपी कटुवालले भन्नुभयो । 

‘जेनजी आन्दोलनुका क्रममा प्रदर्शनकारीले मोरङमा प्रहरीको सीआरभी गाडी र जहदा गाउँपालिकास्थित मझारे प्रहरी चौकीमा आगजनी गरेर क्षति पुर्याएका थिए । सोही घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।