• २९ कात्तिक २०८२, शनिबार

एउटै बोटमा फल्यो बत्तिस किलो किवी

blog

मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङमा गरिएको किवी खेती । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा, कात्तिक २९ गते । मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गरेका छन् । भीमफेदी गाउँपालिका–५, सुपिङमा एउटा बोटबाट न्यूनतम १० किलोदेखि ३२ किलोसम्म किवी फलेको छ ।

“पर्याप्त मल र पानी, गोडमेल भयो भने एउटै बोटबाट पनि राम्रो आम्दानी लिन सकिन्छ,” सुपिङमा व्यावसायिक किवी खेती गर्दै आएका किसान सुरज थिङले भन्नुभयो ।

किमुसेरी ग्रुप प्रालिमार्फत सञ्चालित उक्त किवी फार्म तीन युवाले करिब दुई करोड रुपियाँको लगानीमा सञ्चालन गरेका हुन् । करिब ७० रोपनी क्षेत्रफलमा गरिएको किवी खेतीबाट गत वर्ष साढे तीन टन उत्पादन भएको थियो । 

२०७८ सालदेखि थालनी गरिएको किवी खेती गत वर्षबाट फल्न थालेको हो । “अहिले राम्रो उत्पादन दिन थालेको छ । यो बहुबर्से बाली भएकाले ४०–५० वर्षसम्म फल दिन सक्छ,” किसान थिङले भन्नुभयो । 

१५ वर्षका लागि जग्गा भाडामा लिएर गरिएको खेतीले अहिले बजारमा राम्रो स्थान पाएको छ । “किवीको माग राम्रो छ, यहाँ उत्पादन भएको किवी काठमाडौँ, पोखरा, चितवन, हेटौँडालगायतका बजारमा बिक्री हुन्छ, बजारको समस्या छैन,” उहाँले थप्नुभयो ।