निशा राई
धरान, भदौ ९ गते। जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आदेशको पालना गर्दै धरान सुनसान अवस्थामा रहेको छ।
निषेधाज्ञाको कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टमा कडाई गरेको छ। अप्रिय घट्ना नहाोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ। निषेधाज्ञाको कारण सधै व्यस्त रहने धरान २ भानुचौक समेत सुनसान रहेको छ।
धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको हो। केही समय अघिदेखि धरान १३ विजयपुर डाँडामा मन्दिर अगाडि चर्च बनाएको र गोरु काटेर सामूहिक भोज गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि धार्मिक विवाद सुरु भएको थियो।
उक्त विषयलाई लिएर हिन्दुवादी संगठनहरूले शान्तिपूर्ण र्याली गर्ने भन्दै धरानमा भेला हुन आह्वान गरेपछि शुक्रबार सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानमा २४ घण्टा निषेधाज्ञा जारी गर्नुभएको छ।