• १३ मंसिर २०८१, बिहिबार

कालीकोटमा बालबिवाहबिरुद्ध अभियान

blog

बालबिवाह निषेधित वडा घोषणामा गाउँपालिका उपाध्याक्ष धर्मकला शाही लगायत सरोकारावालाहरु । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, भदौँ ९ गते । कालीकोटको शुभकालिका गाउँपालिका–४ राराकाटियासहित कालीकोटका १४ वटा वडा बालविवाह निषेधित वडा घोषणा भएका छन् । 

स्थानीय सरकारको सक्रियता सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयात्रामा परियोजना लागु भएका जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका गरी १४ वटा वडालाई बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।

बालविवाहको घटना बढिरहेका बेला कर्णाली प्रदेश र कर्णालीको पनि कालीकोट जिल्लाका ८२ वटा वडामध्ये १४ वटा वडा बालविवाह निषेधित वडा घोषणा भएका हुन् । बिहीबार जिल्लाको शुभकालिका गाउँपालिका –५ सुकाटियालाई बालविवाह निषेधित वडा घोषणा गरिएसँगै शुक्रबार वडा –४ लाई पनि बालविवाह निषेधित वडा घोषणा गरिएको छ ।

एक भव्य कार्यक्रमबीच ‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ परिपक्व उमेरमा गर्भाधान, सुरक्षित जीवनको समाधान, भन्ने मूल नाराका साथ गाउँपालिकाको ४ लाई बालविवाह निषेधित वडा घोषणा गरिएपछि बालविवाह निषेधित हुने वडा १४ पुगेका हुन् । 

शुभकालिका गाउँपालिका वडा–४ ले आयोजना गरेको कार्यक्रममा शुभकालिका गाउँपालिका वडा –४ का वडा अध्यक्ष प्रदीप चौलागाईंले लामो समयको प्रयासले वडामा बालविवाह रोक्न सफल भएको बताउनुभयो । 

बालविवाह निषेधित वडा घोषणा गर्न १४ वटै वडाले १५ वटा सूचक र १९ वटा प्रक्रिया पूरा गरेर बालविवाह निषेधित वडा घोषणा गर्न सफल भएको अध्यक्ष चौलागाइँले बताउनुभयो । ११ वटा वडा रहेको तिलागुफा नगरपालिकामा वडा नम्बर १, २, ३ र ४ लाई बालमैत्री वडा घोषणा गरेसँगै वडा १ देखि ८ सम्म बालविवाह निषेधित वडा घोषणा गरिसकिएको छ । 

यसका साथै ८ वटा वडा रहेको जिल्लाको शुभकालिका गाउँपालिकामा वडा नम्बर ४ र ५ लाई पनि बालविवाह निषेधित वडा घोषणा गरेपछि कालीकोटका १४ वटा वडा बालविवाह निषेधित वडा घोषणा भएका हुन् ।