• ११ मंसिर २०८१, मङ्गलबार

पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घमा तालाबन्दी

blog

उद्योग वाणिज्य संघको कार्यालयमा गरिएको तालाबन्दी । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, भदौ ९ गते । 
महासचिव पदमा भएको निर्वाचनको पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा उद्योगी व्यवसायीहरूको एक समूहले तालाबन्दी गरेका छन् ।

गत भदौ २ गते भएको सङ्घको निर्वाचनमा महासचिव पदको मत परिणाममा विवाद भएपछि पुनः मतगणनाको सूचना टाँसेर अस्पताल भर्ना हुनुभएका प्रमुख निर्वाचन अधिकृत टिकाजङ्ग सिंहले पुनः मतगणना नहुने निर्णय गर्नुभएपछि मतगणनाको माग गर्दै प्रजातान्त्रिक समूहले सङ्घको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

प्रजातान्त्रिक समूहबाट कोषाध्यक्षमा विजयी हुनुभएका मख्खन धामीले मतगणनाका दिन विवाद हुँदा पुनः मतगणना गर्ने सूचना टाँस गरे पनि हाल आएर मतगणना नगर्ने निर्णय गरिएको विरोधमा सङ्घको कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो ।

उहाँले पुनः मतगणना नगरिएसम्म तालाबन्दी जारी रहने जनाउनुहुँदै निर्वाचन समितिले पक्षपात गरिरहेको आरोप पनि लगाउनुभयो ।

सुरुमा ६ मतान्तरले महासचिवमा समावेशी समूहका भीमबहादुर रानाभाटलाई विजयी घोषणा गरेलगत्तै उहाँका प्रतिद्वन्द्वी टङ्क शर्माले पुनः मत गणनाको माग गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत सिंहसहित निर्वाचन अधिकृतहरूलाई मतगणना परिसरमा तालाबन्दी गरेर बन्धक बनाउनुभएको थियो ।

बन्धक मुक्त गर्ने क्रममा जिल्ला प्रशासनको मध्यस्थतामा प्रमुख निर्वाचन अधिकृत सिंहले पुनः मतगणनाको सूचना निकाल्नु भएको थियो । सो लगत्तै उहाँ बिरामी भएपछि अस्पताल भर्ना हुनु भएको थियो । तर हाल आएर वरिष्ठ अधिवक्ता समेत रहनु भएका निर्वाचन समितिका प्रमुख सिंहले पुनः मतगणनाको निर्णयबाट पछि हटेर पूर्ववत् भीम रानाभाटलाई महासचिवमा विजयी घोषणा गर्नुभयो ।

प्रजातान्त्रिक समूहका अगुवा सञ्जय थापाले सो घोषणा न्यायसङ्गत नभएको जनाउनुहुँदै प्रजातान्त्रिक समूहले सङ्घमा तालाबन्दी गर्नुका साथै पुनः मतगणनाका लागि अदालतमा रिट दायर गर्ने निर्णयमा पुगेको बताउनुभयो । 

महासचिव बाहेकका अन्य पदहरूको भने यस अघि नै मतपरिणाम घोषणा भइसकेको छ । सङ्घको अध्यक्षमा समावेशी प्यानलका टङ्क धामीसहित अधिकांश पदाधिकारी र सदस्यहरू सोही प्यानलका विजयी भइसक्नु भएको छ ।