• १३ मंसिर २०८१, बिहिबार

विद्यालयमा बाढीले क्षति

blog

जुम्ला समाचारदाता

जुम्ला, भदौ ९ गते ।  तिला गाउँपालिका–६, रुखेडास्थित देवी महादेव माध्यमिक विद्यालयमा बाढीले क्षति पु-याएको छ । बुधबारको बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द भएको छ ।

नयाँ शैक्षिक सत्र वैशाखदेखि सो विद्यालय सञ्चालनमा आएको हो । खोलाको किनारमा रहेको सो विद्यालय बाढीपहिरोको जोखिममा छ । बुधबार आएको बाढीले विद्यालयमा क्षति पुग्यो । विद्यालयका प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ । भवनमा विज्ञानको ल्याब, कम्प्युटर कक्षा र स्कुलको कार्यालय छ । बाढी पसेपछि भवन पनि भत्किएको छ ।

सो विद्यालय ढिपु, सुडी र रिपी गाउँका विद्यार्थीलाई पायक पर्ने गरी रुखेडामा ६–१२ कक्षासम्म सञ्चालन गरिएको हो । तीन गाउँका कक्षा १० सम्मका २२० जना र कक्षा ११ का ५० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । प्रधानाध्यापक रावतका अनुसार बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडीदेखि विद्यालयसम्म आवतजावत गर्ने दुई वटा काठेपुल पनि बगाएको छ । अहिले विद्यालयमा जान सकिने अवस्था छैन । प्रधानाध्यापक रावतले भन्नुभयो, “बाढीले के कति क्षति ग-यो, त्यो यकिन छैन । त्यहाँ पुग्न पनि सकिएको छैन । क्षतिको यकिन गर्न गाउँपालिका मुकाम रारालिहीस्थित प्रहरी चौकीलाई खबर गरिएको छ ।” तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले अहिले तत्काल त्यही स्कुलमा पठनपाठन गर्न सक्ने अवस्था नभएको बताउनुभयो । विद्यालयभरि बाढीले ढुङ्गा, गिट्टी, बालुवा र झारपात थुपारेको छ । उहाँका अनुसार दुईचार दिनमा खोलामा पानी घटेपछि विद्यालयमा जान सकिने सम्भावना छ ।