• १४ मंसिर २०८१, शुक्रबार

उपकरण जाँचपास गराउन पाएपछि व्यवसायी खुशी

blog

नापतौलका उपकरण चाँचपास गराएर घरतर्फ लैजाँदै वालिङका व्यवसायी । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, भदौ ८ गते । वालिङमा नापतौलका उपकरणको जाँचपास गराउन पाउँदा स्थानीय व्यवसायी खुशी भएका छन् । स्थानीयस्तरमा नै आफ्ना नापतौलका उपकरणको जाँचपास गराउन पाएपछि व्यवसायीको खर्च बचत भएको छ । 

पछिल्लो समय व्यापार व्यावसायमा मन्दी आइरहेको अवस्थामा स्थानीयस्तरमा नै सेवा लिन पाएपछि आफूलाई राहत मिलेको वालिङका हार्डवेयर व्यापारी वासुदेव अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ढक तराजु बोकेर पोखरा जानुपर्दा पैसा खर्च हुनुका साथै दुःख पाइन्थ्यो, व्यापार नभएको यो अवस्थामा हामीलाई ठूलो राहत भएको छ ।” वालिङ उद्योग वाणिज्य सङ्घको समन्वय तथा सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट खटिएको टोलीले वालिङ क्षेत्रका व्यवसायीको ढक, तराजुलगायत नापतौलको उपकरणको जाँच एवम् प्रमाणीकरण गरेको हो । 

व्यवसायीले व्यवसाय सञ्चालन गर्दैगर्दा नापतौलका लागि प्रयोग हुने ढक, काँटा, तराजु तथा मिटरजस्ता उपकरण खरिद गरेकोे बिलसहित ३५ दिनभित्र गुणस्तर तथा नापतौल कार्यालयबाट सञ्चालन अनुमति लिनुपर्ने र आवधिक रुपमा त्यसको जाँचपास गराउनुपर्ने साथै डिजिटल काँटा प्रयोग गर्नेले काँटाको क्षमताको १० प्रतिशत ढक सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था छ ।  

वालिङमा रहेका तीन सयभन्दा धेरै उद्योगी ब्यापारी व्यवसायीले आफ्ना नापतौलका उपकरणको जाँच एवम् प्रमाणीकरण गराएका वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । 

ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना होस् भन्नेमा वाणिज्य सङ्घ सदैव क्रियाशील रहेको र आफ्ना व्यवसायी सदस्यलाई पनि सुसूचित बनाउनेतर्फ सक्रिय रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।