राजन रावत
हुम्ला, भदौ ८ गते । शुक्रवार सर्केगार्ड गाउँपालिका– २ को रिप गार्ड खोला तर्ने क्रममा पानीले बगाउँदा नन्दऋषि जैसी बेपत्ता हुनुभएको छ । रातभरि परेको वर्षाको कारण खोलामा पानी बढेको र सो खोला तर्ने क्रममा जैसीलाई पानीले बगाएपछि बेपत्ता हुनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले घटनाको पुष्टि गर्दै रिपगाड खोला तर्ने क्रममा ताँजाकोट गाउँपालिका– २ का दुई भाइमध्ये दाइ नन्दऋषि जैसीलाई खोलाले बगाएर बेपत्ता बनाएको बताउनुभयो । सो खोला तर्ने क्रममा भाइ जयनन्द जैसी भने बाँच्न सफल भएको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक भीमप्रसाद भट्टराईले खोला तरेर बाँच सफल भाइ जयनन्द जैसीलाई रिपगाउँका स्थानीय गाउँ लगेर राखेको बताउनुभयो ।
उक्त खोला करिब बिस मिटर तलको कर्णाली नदीमा गएर मिसिन्छ । उहाँले बेपत्ता जैसीलाई खोलाले बगाएर कर्णाली नदीमै मिसाएर लगेको हुन सक्ने बताउनुभयो । बेपत्ता जैसीको प्रहरी र स्थानीय बासिन्दाहरू मिलेर खोजी कार्य सुरु गरिएको छ । जैसीका भाइहरू शुक्रवार सिमकोबाट घरतर्फ लाग्नुभएको थियो । सो खोलामा केही दिन अगाडि नेपाली सेनाको सहयोगमा काठे पुल निर्माण गरिएको थियो । सो पुल समेत बगाएपछि पैदल यात्रुहरू खोला तर्न बाध्य भएका हुन । यसअघि साउन १२ र १३ गते गएको बाढीबाट सो खोलामा निर्माण गरिएको काठे पुलसमेत बगाएको थियो ।
पुल बगाएपछि सेनाले तत्काल काम चलाउनका लागि काठे पुल पुन निर्माण गरेको थियो । खोलाको केही माथि जीर्ण अवस्थाम झोलुङ्गे पुल छ ।