• ११ मंसिर २०८१, मङ्गलबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो : नेपाल प्रहरी

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की ।

काठमाडौं, भदौ ७ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गर्ने क्रम पनि बढेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरिएको जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बैङ्क खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराउनुभयो ।

‘‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले आठ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौँ । एक नम्बरमा बैङ्किङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा पाँच हजार ९४० जना हामीले पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको अवस्था छ । साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन् ।,’’ प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले भन्नुभयो, ‘‘रकमतर्फ हामीले हेर्ने हो भने पाँच करोड ४१ लाखभन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या अहिले यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरूको सङ्ख्या पनि ठुलो छ । बैङ्क खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गर्ने क्रम बढेको छ ।’’

उहाँले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको बताउनुभयो ।