• २० वैशाख २०८१, बिहिबार

प्रज्ञालाई नयाँ युग सुहाउँदो बनाउन वृहत बहस

blog

प्रज्ञा प्रतिष्ठानको ४० औं प्राज्ञ सभामा ‘समाज अन्वेषण’ नामक जर्नल सार्वजनिक गरिँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । नेपाल प्रज्ञा प्रतिष्ठानलाई नयाँ युगअनुसार अब कसरी अगाडि बढाउने भन्ने बारेमा सभामा वृहत छलफल भएको छ । 

प्रतिष्ठानको ४० औं प्राज्ञ सभामा बुधबार आयोजित सभामा यस विषयमा छलफल भएको हो । छलफलको निष्कर्ष भने बिहीबार सार्वजनिक गरिने छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यले प्रज्ञा प्रतिष्ठानका लागि बिनियोजन गर्ने बजेट बढाउनुपर्ने माग गर्नुभएको छ । 

संस्कृतिलाई एउटा प्राज्ञिक सत्ताको रुपमा विकास गर्न आवश्यक रहेको तथा प्रज्ञा र प्राज्ञहरुलाई उच्च सम्मान गर्नुपर्ने भए पनि सरकारले यसमा ध्यान नदिएको उहाँको गुनासो छ । 

आज नेपाल प्रज्ञा प्रतिष्ठानको ४० औं प्राज्ञ सभाको उद्घाटन गर्दै कुलपति राईले सरकारले प्राज्ञ प्रतिष्ठान र प्राज्ञहरुलाई सम्मान र मर्यादा नगरेको गुनासो गर्नुभएको हो । सरकारले संस्कृति र प्राज्ञिक फाँटलाई हेर्ने नजर फेर्नुपर्छ, कुलपति राइले भन्नुभयो ।

राजनीति र राज्य सत्ताको बीचमा प्रज्ञा र प्राज्ञहरु परेको भए पनि यसलाई सुधार गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रज्ञाका एघारैजना प्राज्ञहरु ज्ञान र बिचारलाई विकन्द्रीकरण गर्ने तथा भाषा र संस्कृतिको जर्गेना गर्न लागि परेको भए पनि बजेट अभावमा धेरै काम गर्न कठिन भएको कुलपति राईले बताउनुभयो ।

कुलपति राई, पूर्व कुलपति बैरागी काइला लगायतले संयुक्त रुपमा उद्घाटन गरेको प्राज्ञ सभा आजै सकिएको छ । प्रज्ञालाई नयाँ युग अनुसार अब कसरी अगाडि बढाउने भन्ने बारेमा सभामा पर्याप्त रुपमा छलफल भएको कुलपति राईले बताउनुभयो । प्रज्ञाको आगामी कार्यदिशा र नीतिको बारेमा समान धारणा बनाउँदै सभा सकिएको भए पनि निर्णयहरु भने बिहीबार मात्रै सार्वजनिक हुने छ । 

यसअघि उद्घाटन कार्यक्रममा बोल्दै पूर्व कुलपति बैरागी काइलाले विभिन्न भाषा र जातजातीका मौलिकता र संस्कृति बचाइराख्नका लागि प्रज्ञाले काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । सबै भाषाभाषीको संरक्षण गर्दै काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ रहेको थियो । उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य प्रज्ञा प्रतिष्ठान, भाषा आयोगलगायतका पदाधिकारीहरुको उपस्थिति  थियो । 

समाज अन्वेषण जर्नल सार्वजनिक 

प्रज्ञा प्रतिष्ठानको ४० औं प्राज्ञ सभाको उद्घाटनको अवसर पारेर आजै सामाजिक शास्त्र विभागको संयोजकत्वमा प्रकाशनमा आएको समाज अन्वेषण नामक जर्नल सार्वजनिक गरिएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति राई, पूर्व कुलपति बैरागी काईंला, प्राज्ञ डा. कौशिला रिसाल तथा अन्य अतिथिहरुले संयुक्तरुपमा जर्नल सार्वजनिक गर्नुभएको हो । 

बहुभाषिक, बहुसामाजिक, बहुसांस्कृतिक नेपाली समाजको सामाजिक शास्त्रसम्बन्धी विषयमा अनुसन्धानमूलक अर्धवार्षिक जर्नल प्रकाशन गर्न सुरुवात गरिएको सामाजिक शास्त्र विभागका प्रमुख प्राज्ञ डा. कौशिला रिसालले जानकारी दिनुभयो । 

सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयका विज्ञले यसमा लेखहरु लेख्न सक्ने छन् । यसबाट देशको बहुभाषिक, सांस्कृतिक तथा नेपालका समाज र संस्कृतिका हरेक पाटा उजागर गर्न थोरै भए पनि सहयोग पुग्ने विश्वास डा. रिसालले व्यक्त गर्नुभयो ।