काठमाडौं, भदौ ६ गते । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरूको स्तरोन्नतिका लागि नेत्रज्योति सङ्घ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ ।
बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति सङ्घका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेसनको तर्फबाट फाउन्डेशनका सिईओ वियोजन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गर्नुभएको हो ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति सङ्घका उपाध्यक्ष एवम् कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रूपमा पछाडि परेको कर्णाली प्रदेशका विकट जिल्लाहरूमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग गरेकोमा आईकेयर फाउन्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल नेत्रज्योति सङ्घ र आईकेयर फाउन्डेशनका बिचमा विगत ३९ वर्षदेखि नेपाली जनतालाई सहज तथा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्न निरन्तर सहकार्य भइरहेको छ ।
हाल नेपाल नेत्रज्योति सङ्घले देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरूमार्फत नेपाली जनतालाई सुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।