अविनाश चौधरी
धनगढी, भदौ ६ गते । कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले आज आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणस्म्बन्धी सञ्चारकर्मीसहित सरोकारवालासँगको अन्तरक्रियामा अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइएको हो ।
डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए पनि केस बढ्दै जाँदा अभियान अझै अपुग रहेको पुष्टि भएकोे जनस्वास्थ्य निरीक्षक विमला ज्ञावालीले बताउनुभयो । “अभियानलाई अझै प्रभावकारी बनाउन जरुरी छ” उहाँले भन्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्षको साउन मसान्तसम्म कैलालीमा डेङ्गुका बिरामीको संख्या १३५ पुगेको छ । डेङ्गुको सङ्क्रमण बढ्दोक्रममा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोतव्यक्ति मीनबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष ४५५ जनामा डेङ्गु सङ्क्रमण भएको थियो । जसमध्ये तीन जनाको ज्यान गएको छ । यसअघि, आर्थिक वर्ष २०७६–७७ मा ४१, २०७७–७८ मा १०१ र २०७८–७९ मा १९८ जनामा डेङ्गु पुष्टि भएको थियो ।
एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने गरेको छ । यो प्रजातिको लामखुट्टेले दिउँसोमा मात्रै मानिसलाई टोक्ने गर्छ । भाइरसबाट लाग्ने डेङ्गु रोग रोकथामको एकमात्र भरपर्दो उपाय डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान रहेको जनाइएको छ । यसका साथै, घर वरिपरि पानी जम्न नदिनुका साथै बट्टा, गमला, टायर, प्लाष्टिकको डब्बा, ड्रमलगायतमा जमेको पानी बेला–बेला फाल्न आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
डेङ्गुबाट जोगिनका लागि लामखुट्टेको वृत्तिविकास रोक्न आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजविक्रम शाहीले बताउनुभयो । उहाँले महामारी बहुआयामिक समस्या रहेकाले डेङ्गुको महामारी रोक्न सबै आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेको बताउनुभयो । डेङ्गुबाट जोगिनका लागि वर्षायाममा असोज महिनासम्म सतर्क रहन जरुरी रहेको उहाँको सुझाव छ ।