• १४ मंसिर २०८१, शुक्रबार

व्यावसायिक सुन्तला खेतीतर्फ बढ्दो आकर्षण

blog

गैंडाकोट नगरपालिका १८ को बसेनीमा गरिएको सुन्तला खेती । तस्बिर :

मीना कँडेल
कावासोती, भदौ ६ गते ।
पूर्वी नवलपरासीमा पछिल्लो समय सुन्तला खेतीतर्फको आकर्षण बढ्न थालेको छ । पराम्परागत कृषि खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि व्यवसायिक रुपमा सुन्तला खेतीतर्फको आकर्षण बढ्न थालेको हो । यहाँका ५१ घरधुरी व्यावसायिक फलफूल खेतीमा संलग्न छन् ।

केही वर्ष अघिसम्म बाँझो र भिरालो पाखापखेरोमा सीमित रहेको गैंडाकोट नगरपालिका १८ को बसेनी, रतनपुरको  जमिनमा  व्यावसायिक सुन्तला खेती गरिएको छ । कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिंचाइसहितका विविध समस्या झेलेका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । डाँडापाखामा लगाइएको सुन्तला विक्रीका लागि तयार देखेपछि स्थानीयहरु दङ्ग छन्र ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा वि.सं.२०७५ बाट सुन्तला जातका फलफूल जोनको कार्यक्रम सुरुवात गरेको हो । सुरुवातको समयमा तीन सय ३१ हेक्टरमा हुँदै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा बिस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

व्यवासायीक रुपमा वि.सं.२०७५ बाट सुन्तलाजातका फलफूलको खेती लगाउँदै आउनुभएका ६४ वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैंचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदैछ । टीका रत्न टुल्की कृषि फर्म दर्ता गरी “१४ रोपनीबाट सुरु गर्नुभएको सुन्तलाजातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौं ।” उहाँले भन्नुभयो ।

सुन्तला बगैँचामा उन्सु जातसहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किम्बु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप लिची लगाएका फलफूलहरु छन् । उहाँले भन्नुभयो, “यो सिजनमा सुन्तला र सुनकागती–१ को बिक्रीबाट १० लाख आम्दानी हुन्छ होला, गतवर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।”

सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मङ्सिरको १५ देखि पुससम्मका लागि स्थानीय खोकु जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताउनुभयो । “जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म दुई करोड ५० लाख लगानी गरिसकेको छु,” उहाँले भन्नुभयो “अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैंचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन् ।”

कोदो र मकै मात्रै लगाएर जीविका चलाउदै आएका यहाँका स्थानीयहरुलाई पहिले गाउँमा सुन्तला खेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । स्थानीय युवबहादुर सारुलाई पहिले झाडी भएको जग्गामा किन खेती गर्न लागेको होला भन्ने लागेको थियो । भिरालो जमिनमा मल, जल नअडिने हुँदा बाली लगाउन समस्या भएपछि बारीहरु बाँझै छोड्ने गरेको सारुले बताउनुभयो । “३२ रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु” सारुले भन्नुभयो “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाका बोट हुर्किएको देखेर म आफैँ दङ्ग परिरहेको छु ।” यहाँको दोडे टोलका किसानहरु पनि मकै कोदो छोडेर सुन्तला लगाउन थालेका छन् ।

जिल्लाको बुलिङ्गटार, बौदिकाली गाउँपालिका, गैंडाकोट १८, देवचुली ६, हुप्सेकोट ५ र मध्यबिन्दु ८ र १५ मा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ । यहाँ किसानहरुले करिब १५ हजार सुन्तलाका बोट लगाएका छन् । कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिंचाइ, मेसेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सिप, राेग कीराका बारेमा सहजै सल्लाह सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेशामा टिक्नका लागि उर्जा मिलेको उहाँले बताउनुभयो ।